आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीमा धेरै भारी वर्षाको चेतावनी
वि.सं.२०८३ भदौ १५ सोमवार ०९:५०
shares

काठमाडौं, १५ भदौ । देशभर मनसुनी गतिविधि सक्रिय रहेकाले आज विभिन्न क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज हिमाली तथा पहाडी क्षेत्रमा वर्षासँगै केही स्थानमा हिमपातसमेत हुन सक्नेछ।
आज दिउँसो हिमाली र पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा धेरै स्थान तथा मधेश र कोशी प्रदेशका तराई क्षेत्रमा केही स्थानमा पनि मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
यस क्रममा देशका पहाडी भू–भाग तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान छ।
त्यस्तै आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
मधेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा र लुम्बिनी तथा सुदूरपश्चिमका तराईका थोरै स्थानमा पनि मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्रका साथै लुम्बिनीका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ। त्यस्तै, कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।


















