Dhulikhel Eco Banner new

सीमावासीको स्वास्थ्यमा सशस्त्र प्रहरीको पहल, ठाढीमा आयोजित शिविरबाट ४५१ जना लाभान्वित

260
shares

काठमाडौं, १५  भदौ  । धनुषाको विदेह नगरपालिका–१ ठाढीमा आयोजित एकदिने निःशुल्क स्वास्थ्य शिविरबाट ४५१ जना स्थानीय लाभान्वित भएका छन्।

सशस्त्र प्रहरी बल, नेपाल नं. ८ गण हेडक्वार्टर धनुषाको आयोजनामा तथा नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको पहलमा शिविर सञ्चालन गरिएको हो। सशस्त्र प्रहरी बल नेपाल फिल्ड अस्पताल महोत्तरी र मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकार्यमा ठाढीस्थित श्री माध्यमिक विद्यालयको खेलमैदानमा स्वास्थ्य शिविर आयोजना गरिएको थियो।

‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत आयोजित शिविरमा बालरोग, नाक–कान–घाँटी, स्त्रीरोग, हाडजोर्नी तथा आन्तरिक चिकित्सालगायत विभिन्न स्वास्थ्य समस्याका विशेषज्ञ चिकित्सकले स्थानीयको स्वास्थ्य परीक्षण गरेका थिए।

शिविरमा ठाढी तथा आसपासका क्षेत्रबाट आएका ४५१ जना स्थानीयले स्वास्थ्य सेवा लिएका थिए। स्वास्थ्य परीक्षणका क्रममा चिकित्सकले आवश्यकताअनुसार औषधि तथा स्वास्थ्यसम्बन्धी परामर्शसमेत प्रदान गरेका थिए भने सेवाग्राहीलाई निःशुल्क औषधि वितरण गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

शिविरको प्रमुख आतिथ्य सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनीका बाहिनीपति डिआईजी विष्णुप्रसाद भट्टले गरेका थिए।

कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी बल, नेपाल नं. ८ गण हेडक्वार्टर धनुषाका गणपति एसपी भीमबहादुर बिष्टले सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकको भूमिकाको प्रशंसा गरे। उनले सीमावासी नागरिकलाई सीमाको ‘पहिलो पहरेदार’को संज्ञा दिँदै सीमा सुरक्षा तथा सहकार्यमा उनीहरूको योगदान महत्वपूर्ण रहेको बताए।

सीमावासीसँगको सम्बन्धलाई थप मजबुत बनाउँदै उनीहरूको स्वास्थ्यलगायत आधारभूत आवश्यकतामा सहयोग पुर्‍याउने उद्देश्यले स्वास्थ्य शिविर आयोजना गरिएको उनले बताए।

सशस्त्र प्रहरीले ‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’मार्फत सीमाक्षेत्रका नागरिकसँग प्रत्यक्ष सम्पर्क र सहकार्य बढाउने तथा आवश्यक सेवा र सहयोग उपलब्ध गराउने कार्यलाई निरन्तरता दिइने जनाएको छ।

शिविरमा विशेषज्ञ चिकित्सक डा. रजनिश यादवसहित सशस्त्र प्रहरी बल, नेपाल फिल्ड अस्पताल महोत्तरीका चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य सुरक्षाकर्मीको सहभागिता रहेको थियो।