केएल दुगड ग्रुपद्वारा रसुवाका बाढी प्रभावित ७३८ परिवारका लागि पहिलो चरणको राहत पठाइँदै
वि.सं.२०८३ भदौ १५ सोमवार १०:४६
shares

काठमाडौं, १५ भदौ । केएल दुगड ग्रुपले रसुवाका बाढी प्रभावित ७३८ परिवारका लागि पहिलो चरणको राहत सामग्री पठाउने भएको छ। ग्रुपले भदौ १५ गते बिहान बट्टारस्थित नेपाली सेनाको मैथिली ब्यारेकतर्फ राहत सामग्री पठाउन लागेको जनाएको छ।
पहिलो चरणको राहत अभियानअन्तर्गत करिब ३० लाख रुपैयाँ बराबरका दैनिक उपभोग्य तथा अत्यावश्यक खाद्यान्न सामग्री प्रभावित परिवारका लागि पठाउन लागिएको हो। विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले सहयोग सामग्री पठाउन लागिएको ग्रुपले जनाएको छ।
राहत सामग्रीमा चामल, दाल, नुन, गहुँको पिठो, खाने तेल, बिस्कुट, चिउरा, दालमोठ तथा विभिन्न मसलालगायतका दैनिक उपभोग्य सामग्री रहेका छन्।
बाढी तथा वर्षाका कारण सडक सञ्जालमा क्षति पुगेको र प्रभावित क्षेत्रमा आवतजावतमा समस्या रहेकाले थप राहत सामग्री चरणबद्ध रूपमा प्रभावित क्षेत्रमा पुर्याइने ग्रुपले जनाएको छ।
विपद्को समयमा प्रभावित परिवारसँगै उभिएर मानवीय सहयोग गर्नु आफ्नो सामाजिक उत्तरदायित्वको महत्वपूर्ण हिस्सा रहेको केएल दुगड ग्रुपले जनाएको छ। तत्काल आवश्यक पर्ने खाद्यान्न तथा अन्य सामग्री उपलब्ध गराएर प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले राहत अभियान सञ्चालन गरिएको ग्रुपको भनाइ छ।
केएल दुगड ग्रुपबारे
सन् १९८९ मा स्थापना भएको केएल दुगड ग्रुप नेपालका प्रतिष्ठित औद्योगिक तथा व्यापारिक घरानामध्ये एक हो। ग्रुपले मुख्यतः खाद्य सामग्री, खाने तेल, सिमेन्ट तथा इलेक्ट्रोनिक्स उत्पादनको उत्पादन र बजारीकरण गर्दै आएको छ।
ग्रुपअन्तर्गत ज्ञान, स्वास्तिक, सनफ्लो, धारा, धारा हेल्थ, मेजान, युनाइटेड सिमेन्ट्स, स्काइवर्थ, औरा र लिभप्योरलगायत विभिन्न प्रख्यात तथा लोकप्रिय ब्रान्डहरू बजारमा रहेका छन्।


















