५३ झोलुंगे पुलमा क्षति, ५ ठाउँमा तुइन जडान गरिँदै
वि.सं.२०८३ भदौ १६ मंगलवार १८:०८
shares

काठमाडौं ,१६ भदौ । भदौ १० गते आएको भोटेकोशी-त्रिशूली बाढीले सडक र पुलहरूमा पनि क्षति पुर्याएको छ।
विभागका महानिर्देशक विजय जैसीले आज पत्रकार सम्मेलन गरेर बाढी र पहिरोले गल्छी–बेत्रावती–रसुवागढी र पृथ्वी राजमार्गको गल्छी–मुग्लिङ खण्डमा सबैभन्दा बढी प्रभाव पारेको बताए।
उनकाअनुसार ५३ झोलुङ्गे पुलमा क्षति पुगेको छ। यीमध्ये ३३ वटा पुनर्निर्माण गर्नुपर्ने अवस्था छ। बाढीले विभाग मातहत रहेका ३१ वटा गाडी चल्ने पुलमा पनि क्षति पुर्याएको छ।
साथै ८२ किलोमिटरको गल्छी–बेत्रावती–रसुवागढी सडकखण्डको विदुरदेखि रसुवागढीसम्मको ५६ किलोमिटरमध्ये ४० किलोमिटर सडक पूर्ण रूपमा ध्वस्त भएको छ।
पृथ्वी राजमार्गको कृष्णभीर र परेवाभीरमा सडकको ठूलो हिस्सा नदीले कटान गरेपछि यातायात सम्पर्क विच्छेद भएको छ। गल्छी, बैरेनी, जरेखेत र पोखरे क्षेत्रमा दुईदेखि तीन मिटरसम्म लेदो जमेर सडक अवरुद्ध भएको थियो।
‘कतिपय पुल पूर्ण रूपमा बगेका छन् भने कतिपयको स्पानमा क्षति पुगेको छ। विभागले तत्कालका लागि तीन स्थानमा बेलिब्रिज जडानको प्रक्रिया सुरू गरिसकेको छ। देवीघाटस्थित तादी खोलामा ५० मिटर लामो बेलिब्रिज हाल्ने तयारी भइरहेको छ भने त्रिशूली बजार र बेत्रावतीमा पनि बेलिब्रिज जडानका लागि डिजाइन सम्पन्न भएको छ। अन्य २० वटा क्षतिग्रस्त पुलहरूको प्राविधिक सर्वेक्षण भइरहेको र आवश्यकताअनुसार बेलिब्रिज राखिने छ,’ उनले भने।
धादिङबेसी जोड्ने फुर्केखोलाको पुल भाँचिएपछि माल्टार, गजुरीटार र केउरिनीघाट हुँदै वैकल्पिक मार्गमार्फत सम्पर्क स्थापित गरिएको उनले बताए।
काठमाडौंबाट धुन्चे जानका लागि टोखा–छहरे–विदुर–बोगटीटार हुँदै ११० किलोमिटरको वैकल्पिक सडक प्रयोगमा ल्याइएको छ। कृष्णभीरको अवरोध हटाउन भित्ता काट्ने वा त्रिशूली पारिबाट नयाँ ट्रयाक खोल्ने भन्ने विषयमा नेपाल जियोटेक्निकल सोसाइटीका विज्ञहरूसँग परामर्श भइरहेको महानिर्देशक जैसीले जानकारी दिए।
सडकको आकस्मिक मर्मतका लागि सडक बोर्डको बैठकले तत्काल ३ करोड २५ लाख रुपैयाँ विनियोजन गरेको छ। थप आवश्यक खर्च योजना अन्तर्गतकै बजेटबाट व्यवस्थापन गरिनेछ। हाल कार्यक्षेत्रमा ५० जनाभन्दा बढी वरिष्ठ प्राविधिक, इन्जिनियर र मेकानिक्सहरू खटिएका छन्। विभागले १५ वटाभन्दा बढी हेभी इक्विपमेन्टहरू विभिन्न खण्डमा परिचालन गरेको छ।
पेट्रोलियम पदार्थ र ग्यास बुलेटको आपूर्तिका लागि त्रिभुवन राजपथ र कान्ति लोकपथलाई प्राथमिकतामा राखिएको छ। बिपी राजमार्गमा साना सवारीलाई प्राथमिकता दिने र अत्यावश्यक सामग्री बोकेका ट्रकहरूलाई रातको समयमा हेटौँडाबाट पठाउने योजना आपूर्ति मन्त्रालयसँगको समन्वयमा बनाइएको छ।
महानिर्देशक जैसीकाअनुसार हाल कोदारी राजमार्ग सञ्चालनमा छ भने इलामको राँके–दुहाली खण्डको अवरोध पनि हटाइएको छ। वर्षातको मौसम अझै बाँकी रहेकाले विभागले आफ्ना सम्पूर्ण संयन्त्रलाई ‘अलर्ट’ अवस्थामा राखेको जानकारी दिएको छ।
साथै भोटेकोशी बाढीका कारण प्रभावित विभिन्न जिल्लाका ५३ वटा झोलुङ्गे पुलमा क्षति पुगेको छ।
स्थानीय पूर्वाधार विकास विभागका महानिर्देशक अशोककुमार साहले क्षतिग्रस्त पुलमध्ये ३३ वटा पूर्ण रूपमा बगेका छन् भने २० वटा सामान्य मर्मत गरी सञ्चालनमा ल्याउन सकिने अवस्थामा छन्।
पूर्ण रूपमा क्षतिग्रस्त भएका ३३ वटा पुलको पुनर्निर्माण गर्नुपर्ने र बाँकी २० वटाको मर्मत कार्य तत्काल अघि बढाइने विभागले जनाएको छ। बाढीले पुल बगाएपछि विच्छेद भएको जनजीवन र दुई बस्तीबीचको आवागमनलाई सहज बनाउन विभागले तत्काल पाँच स्थानमा अस्थायी तुइन जडान गर्ने कार्य सुरू गरेको छ।
नुवाकोटको विदुर नगरपालिका–१ स्थित त्रिशूली नदीको इन्द्रायणी चौरमा २५५ मिटर लामो तुइन सोमबारदेखि सञ्चालनमा आइसकेको छ।
यसैगरी, बेलकोटगढीको देवीघाटमा १८० मिटर लामो तुइन आजैदेखि सञ्चालनमा ल्याउने तयारी छ। बेत्रावती र रसुवाका दुई स्थानमा गरी थप तीन स्थानमा भोलिदेखि तुइन जडानको कार्य प्रारम्भ हुने साहले बताए।
सामान्य क्षति भएका २० वटा पुलमध्ये गल्छीभन्दा माथिल्लो क्षेत्रका ९ वटा पुलको मर्मत कार्य भोलिदेखि नै सुरू हुनेछ। मर्मतका लागि आवश्यक ‘डेग’ (पाटा) हरू बजारबाट खरिद गरी जतिसक्दो चाँडो काम सम्पन्न गर्ने विभागको लक्ष्य छ।
यद्यपि, पूर्ण रूपमा क्षतिग्रस्त ३३ वटा पुलको पुनर्निर्माणमा भने केही समय लाग्ने देखिएको छ। पुनर्निर्माणका लागि आवश्यक पर्ने ‘लठ्ठा’ (स्टिल वायर रोप) हाल मौज्दात नरहेको र भारतबाट आयात गर्नुपर्ने भएकाले अन्तर्राष्ट्रिय बोलपत्र (आईसीबी) प्रक्रिया अपनाउनुपर्ने साहले बताए।
साथै, सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) को प्रणालीमा आएको प्राविधिक समस्याका कारण बोलपत्र प्रक्रिया ‘हार्ड कपि’ मार्फत अघि बढाउनुपर्ने बाध्यताले पुनर्निर्माणमा केही ढिलाइ हुनसक्ने उनको भनाइ छ।
स्थानीय पूर्वाधारको पुनर्स्थापनाका लागि विभागले प्रारम्भिक लागत अनुमान समेत सार्वजनिक गरेको छ। जसअनुसार झोलुङ्गे पुल मर्मतका लागि १५ करोड रुपैयाँ, झोलुङ्गे पुल पुनर्निर्माणका लागिः ६० करोड रुपैयाँ, अवरूद्ध ग्रामीण सडक खुलाउन र वैकल्पिक मार्गका लागि ४० करोड रुपैयाँ अनुमान गरिएको बताए।
आगामी २० देखि २५ दिनभित्र मर्मत हुनसक्ने पुलहरूको काम सम्पन्न गरी स्थानीयलाई राहत दिने विभागको योजना छ। मुख्य राष्ट्रिय राजमार्गहरूको तुलनामा ग्रामीण सडकहरूमा कम क्षति पुगे पनि स्थानीय स्तरको पहुँचलाई सुचारु राख्न विभाग केन्द्रित रहेको साहले बताए।

















