Dhulikhel Eco Banner new

नीतिगत फेरबदल र दसैंको संघारमा खुल्दै सेयर बजार: कता जाला नेप्से ?

923
shares
पुँजीगत लाभकर कटौतीदेखि नेपाल राष्ट्र बैंकको कसिलो नीतिसम्मका महत्त्वपूर्ण घटनाक्रमले भरिएको गत साता पछि, आजदेखि सेयर बजार खुल्दैछ। लगानीकर्ताको मनोबल उकास्ने र दबाबमा राख्ने दुवैखाले नीतिगत निर्णयहरू एकैपटक आएकाले आज खुल्ने बजारको चाल कस्तो रहला भन्ने चासो सर्वत्र छ। गत साता नेप्से परिसूचक सामान्य अंकले घटेर २६२९.८१ बिन्दुमा बन्द भएको थियो।
आजको बजारमा सबैभन्दा बढी प्रभाव राष्ट्र बैंकले बिहीबार जारी गरेको नयाँ परिपत्रको पर्ने देखिन्छ। बैंक तथा वित्तीय संस्थाहरूले सूचीकृत सेयर किनेपछि कम्तीमा ४५ दिन होल्ड गर्नुपर्ने नियमले छोटो अवधिको ‘ट्रेडिङ’ गर्ने संस्थागत पुँजीलाई अंकुश लगाएको छ। यसले गर्दा आजदेखि बजारमा ठूला खरिदबिक्री र समग्र कारोबार रकममा केही संकुचन आउन सक्ने विश्लेषकहरूको अनुमान छ।
अर्कोतर्फ, घटेको पुँजीगत लाभकर लागू भइसकेको छ। यसले लगानीकर्तालाई मनोवैज्ञानिक राहत त दिएको छ, तर बजार उकास्न आवश्यक पर्ने नयाँ तरलता भने थप्न सकेको छैन। त्यसमाथि दसैं नजिकिँदै गर्दा चाडपर्वका लागि आवश्यक नगदको जोहो गर्न लगानीकर्ताले सेयर बेच्ने (नाफा बुक गर्ने) प्रवृत्ति हाबी हुन सक्छ। यसले बजारमा खरिदभन्दा बिक्रीको चाप बढाउन सक्ने जोखिम छ। यद्यपि, पहिलो त्रैमासको अन्त्य नजिकिएकाले कम्पनीहरूको सम्भावित वित्तीय रिपोर्टको अनुमानमा केही निश्चित सेयरहरूमा भने आकर्षण देखिन सक्छ।

नेपाल धितोपत्र बोर्डले अघि सारेको एकै दिन सेयर किनबेच गर्न मिल्ने ‘इन्ट्राडे’ कारोबारको अवधारणा र ५ प्रतिशतभन्दा बढी सेयर भएकाले बेच्नुअघि सूचना दिनुपर्ने नियमले पनि लगानीकर्ताको मनोविज्ञानमा प्रभाव पार्नेछ। प्राविधिक रूपमा हेर्दा, बजार अहिले २६०२ को टेवा (सपोर्ट) र २६७६ को प्रतिरोध (रेजिस्टेन्स) बिन्दुको बीचमा रुमल्लिएको छ। आजको बजारले कारोबार रकमसहित २६७६ को बिन्दु पार गरेमा बजार सकारात्मक लयमा फर्किनेछ भने २६०२ को विन्दु भत्किएमा बजार थप ओरालो लाग्न सक्छ।
समग्रमा, नीतिगत सुधारका प्रयासहरूले दीर्घकालीन रूपमा बजारलाई पारदर्शी र बलियो बनाउने भए पनि तत्कालको दिशा भने तरलता र लगानीकर्ताको विश्वासमै निर्भर हुनेछ। ‘इन्ट्राडे’ कारोबार जस्ता सुविधाहरू तत्कालै लागू भइनसकेको अवस्थामा, हल्ला र लहडका भरमा मात्रै लगानी गर्नु जोखिमपूर्ण हुने देखिन्छ।