बाढीले ठप्प पाऱ्यो ऊर्जा उत्पादन : एक हजार मेगावाटभन्दा बढी विद्युत् प्रणालीबाट बाहिरियो
वि.सं.२०८३ असोज १२ सोमवार ०७:४७
shares

अविरल वर्षापछिको बाढी र पहिरोले देशको ऊर्जा क्षेत्रमा गम्भीर असर पुर्याएको छ । कालीगण्डकी, मर्स्याङ्दी र सेती-मादी करिडोरलगायतका प्रमुख नदी बेसिनमा आएको बाढीका कारण राष्ट्रिय प्रसारण प्रणालीबाट एकैपटक १ हजार १३ दशमलव २ मेगावाट विद्युत् आपूर्ति टुटेको छ। प्राकृतिक विपत्तिले विद्युत् उत्पादन र प्रसारण दुवैतर्फका संरचनामा अकल्पनीय क्षति पुगेपछि यति ठूलो परिमाणमा बिजुलीको आपूर्ति बन्द भएको हो ।
विद्युत् आपूर्ति अवरुद्ध हुनुमा मुख्यतया दुई कारण देखिएका छन्— भौतिक क्षति र प्राविधिक सावधानी । कुल अवरुद्ध विद्युत्मध्ये ३१८ मेगावाट क्षमताका जलविद्युत् आयोजनाहरू प्रसारण लाइनका टावरहरू ढलेका कारण पूर्ण रूपमा ठप्प भएका हुन्। बाढीले टावर नै ढालेकाले मर्मतसम्भारमा समय लाग्ने हुँदा यी आयोजनाको बिजुली तत्कालै प्रणालीमा फर्काउन कठिन हुने देखिन्छ । अर्कोतर्फ, नदीमा पानीको बहाव र लेदो अत्यधिक बढेपछि मेसिनरी उपकरणमा हुन सक्ने क्षति र सम्भावित जोखिमलाई मध्यनजर गर्दै ६९५ दशमलव २ मेगावाट क्षमताका आयोजनाहरू भने सुरक्षात्मक उपाय (सेफ्टी मेजर) अपनाउँदै बन्द गरिएका हुन्।
देशको कुल जडित क्षमताको यति ठूलो हिस्सा एकैपटक प्रणालीबाट बाहिरिँदा आन्तरिक विद्युत् व्यवस्थापनमा ठूलो चुनौती थपिएको छ । यद्यपि, पूर्वसावधानीका कारण बन्द गरिएका आयोजनाहरू भने नदीमा जलस्तर र लेदो घट्नेबित्तिकै क्रमशः सञ्चालनमा आउनेछन् । भत्किएका संरचनाको मर्मतसम्भार गरी विद्युत् आपूर्तिलाई सकेसम्म चाँडो पूर्ववत् अवस्थामा फर्काउन प्रभावित क्षेत्रहरूमा प्राविधिक टोली परिचालन गरिसकिएको सम्बद्ध निकायले जनाएको छ।

















