यात्रु ठगी र दुर्घटना रोक्न तत्काल कार्ययोजना लागू गर्न निर्देशन
वि.सं.२०८३ असोज १२ सोमवार १३:३०
shares

काठमाडौं, १२ असोज । दसैँ, तिहार र छठलगायतका चाडपर्वमा सार्वजनिक यातायातलाई सरल, सुरक्षित र मर्यादित बनाउन पूर्वाधार विकास समितिले सरकारलाई निर्देशन दिएको छ। सोमबार बसेको समितिको बैठकले यात्रुले भोग्ने सास्ती, टिकटमा हुने ठगी र सवारी दुर्घटनाका जोखिमलाई न्यूनीकरण गर्न प्रभावकारी कार्ययोजनासहित तत्काल लागू गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सचेत गराएको हो।
पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलको अध्यक्षतामा बसेको बैठकले चाडपर्वको समयमा यात्रुको चापलाई मध्यनजर गर्दै सवारी साधनको प्राविधिक परीक्षण, चालकको पर्याप्त विश्राम र सडक सुरक्षाको पूर्व मूल्याङ्कन गर्न निर्देशन दिएको छ। समितिले विशेषगरी तोकिएको स्थानबाट मात्र टिकट बिक्री गर्ने, बसपार्कबाट सवारी सञ्चालन गर्ने र यात्रु सहायता कक्ष स्थापना गर्न जोड दिएको छ।
बैठकले क्षमताभन्दा बढी यात्रु बोक्ने कार्यलाई पूर्णतः नियन्त्रण गर्न र बाटोमा अखाद्य वा बासी खाना बिक्री वितरण गर्ने होटल तथा रेस्टुरेन्टहरूको प्रभावकारी अनुगमन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। साथै, ज्येष्ठ नागरिक, महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूका लागि यातायात सेवालाई थप मैत्रीपूर्ण बनाउन समितिले ध्यानाकर्षण गराएको छ।
यात्रुहरूले भोग्ने भाडादरको समस्या र टिकटमा हुने अनियमिततालाई रोक्न मन्त्रालयलाई तत्काल कार्ययोजना बनाएर कार्यान्वयन गर्न भनिएको छ। समितिको बैठकले चाडपर्व लक्षित यातायात व्यवस्थापन उपसमितिमा सांसद राजुनाथ पाण्डेलाई सदस्यका रूपमा मनोनयन गरेको छ।
सभापति गजुरेलले विगतका वर्षहरूमा जस्तै यात्रुले सास्ती भोग्नुपरेमा वा असुरक्षित यात्राको अवस्था देखिएमा त्यसको जिम्मेवारी लिने निकायलाई कडा कारबाहीको दायरामा ल्याउने चेतावनी दिएका छन्।

















