धेरै दूध बिक्री गर्ने १५ जना किसान पुरस्कृत
वि.सं.२०८३ असोज २६ सोमवार १२:५८
shares

काठमाडौं, २६ असोज । स्थानीय बन्दीपुर गाउँपालिका–५, याम्पाफाँटका १५ जना किसान पुरस्कृत भएका छन् । याम्पाफाँट दुग्ध उत्पादक सहकारी संस्थाले दूध बिक्रीका आधारमा उत्कृष्ट किसानलाई पुरस्कृत गरेको सहकारीका अध्यक्ष काशीनाथ भट्टराईले जानकारी दिए ।
सहकारीमार्फत गत आर्थिक वर्षमा सबैभन्दा बढी दूध बिक्री गर्ने नमुना गाई फार्मका सञ्चालक पुष्पराज पौडेल प्रथम भएका छन् । उनले ८९ हजार एक सय २८ लिटर दूध बिक्री गरेका छन् ।
त्यसैगरी ५१ हजार आठ सय १२ लिटर दूध बिक्री गर्ने व्यावसायिक किसान काशीनाथ भट्टराई दोस्रो तथा ४४ हजार चार सय ४४ लिटर दूध बिक्री गर्ने सुरज घिमिरे तेस्रो भएका छन् ।
त्यस्तै छविलाल घिमिरे चौथो, कमला पन्थ पाँचौँ, हरिप्रसाद भट्टराई छैटौँ र ओमप्रसाद लामिछाने सातौँ स्थान प्राप्त गरी पुरस्कृत भए। त्यस्तै इन्दिरा भट्टराई आठौँ, ऋषिराम भट्टराई नवौँ र रामनाथ भट्टराईले दसौं स्थान प्राप्त गरेका थिए ।
यसैगरी मुना न्यौपाने एघारौँ, सानुमाया सुनार बाह्रौँ, टकराज लामिछाने तेह्रौँ, इन्दिरा घिमिरे चौधौँ तथा १८ हजार एक सय ८४ लिटर दूध उत्पादन गर्ने ओमप्रकाश गुरुङले पन्ध्रौँ स्थान प्राप्त गरी पुरस्कृत भए । उनीहरुलाई रु तीन हजारदेखि ११ हजारसम्म नगद पुरस्कार प्रदान गरिएको सहकारीका अध्यक्ष भट्टराईले जानकारी दिए ।


















