समुद्री क्षेत्रमा दुई तेल ट्यांकरमा आक्रमण, भारतीय नाविकको खोजी जारी
वि.सं.२०८३ असोज २६ सोमवार १३:११
shares

काठमाडौं, २६ असोज । स्ट्रेट अफ होर्मुज क्षेत्रनजिक दुई तेल ट्यांकरमाथि आक्रमण हुँदा दुई भारतीय नाविक बेपत्ता भएका छन् ।
अक्टोबर ११ मा भएका छुट्टाछुट्टै घटनामा दुई व्यावसायिक तेल ट्यांकरलाई निशाना बनाइएको हो । आक्रमणपछि एउटा जहाजमा आगलागी भएको थियो भने अर्को जहाजमा रहेका दुई नाविक सम्पर्कविहीन भएका छन् ।
निकारागुआको झण्डा रहेको ‘एमटी पेट्रो डल्फिन’ मा ड्रोन आक्रमण भएको थियो । उक्त जहाजमा ११ भारतीय नाविक सवार थिए । उनीहरूमध्ये नौ जनाको उद्धार गरिएको छ भने दुई जनाको खोजी भइरहेको छ ।
त्यस्तै, मार्सल आइल्यान्ड्सको झण्डा रहेको ‘एमटी भाल्थेरा’ मा अज्ञात प्रक्षेप्यास्तु लागेपछि आगलागी भएको थियो । उक्त जहाजमा रहेका सबै ११ भारतीय नाविक सुरक्षित रहेको भारतीय अधिकारीहरूले जनाएका छन् ।
बेपत्ता नाविकको खोजी तथा उद्धारका लागि ओमानका सम्बन्धित निकायसँग समन्वय भइरहेको छ । भारतीय अधिकारीहरूले प्रभावित जहाजका चालक दलका सदस्यलाई आवश्यक सहयोग उपलब्ध गराउने काम भइरहेको बताएका छन् ।
घटनाप्रति भारत सरकारले चिन्ता व्यक्त गर्दै व्यावसायिक जहाजमाथि हुने आक्रमण रोक्न आग्रह गरेको छ । समुद्री मार्गमा सुरक्षित आवागमन सुनिश्चित गर्न र क्षेत्रीय तनाव कम गर्न संवाद तथा कूटनीतिक माध्यम अपनाउन पनि भारतले सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।
स्ट्रेट अफ होर्मुज विश्वको प्रमुख तेल ढुवानी मार्गमध्ये एक हो । यस क्षेत्रमा बढ्दो सुरक्षा चुनौतीले समुद्री व्यापार र तेल आपूर्तिमा असर पर्न सक्ने चिन्ता बढाएको छ ।


















