महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका असईको शव फेला
वि.सं.२०८३ असोज २८ बुधवार १३:२४
shares

काठमाडौँ, २८ असोज । कञ्चनपुरको महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका असई सागरराज थारूको शव फेला परेको छ। असोज २४ गते महाकालीमा बेपत्ता भएका थारूको शव पाँच दिनपछि बुधबार फेला परेको हो।
भत्किएको झोलुङ्गे पुलसँगै चुँडिएको नेपाल टेलिकमको तार तान्ने क्रममा बेपत्ता भएका उनको झोलुङ्गे पुलको तारमै अड्किएको अवस्थामा थारूको शव फेला परेको हो ।
नदीको बहाव तीव्र रहेकाले तारमा अड्किएर उनको मृत्यु भएको हुन सक्ने आशङ्का गरिएको छ। पानीको बहाव कम भएपछि दुर्घटना भएको स्थानभन्दा करिब ५० मिटर तल थारूको शव फेला परेको थियो। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले तार तान्ने क्रममा उनी त्यहीँ अड्किएको हुन सक्ने बताए।
माथिबाट हेर्दा सशस्त्र प्रहरीको टी–सर्ट लगाएको व्यक्ति तारमा अड्किएको देखिएपछि गोताखोरले उक्त क्षेत्रमा खोजी गर्दा थारूको शव पहिचान भएको हो। गोताखोर टोली र नेपाली सेनाले शव निकालेका थिए। दुई साताअघि दोधाराचाँदनी जोड्ने झोलुङ्गे पुल भत्किएको थियो।
पुल भत्किएसँगै नेपाल टेलिकमको इन्टरनेट तारसमेत चुँडिएको थियो। सोही तार तान्ने क्रममा डुङ्गा अनियन्त्रित हुँदा थारू महाकाली नदीमा बेपत्ता भएका थिए।
बर्दियाको ठाकुरबाबा नगरपालिका–६, तुलसीपुरका थारू बेपत्ता हुनुभन्दा अघिल्लो दिन मात्रै दोधाराचाँदनीको देवस्थानस्थित सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्ममा हाजिर भएका थिए।


















