नेप्सेको नयाँ सीईओ को बन्ला? चार उम्मेदवारको अन्तर्वार्ता सकियो, नियुक्ति दसैँपछि
वि.सं.२०८३ असोज २९ बिहीवार १०:२४
shares

काठमाडौं, २९ असोज। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति प्रक्रिया दसैँपछि मात्रै अघि बढ्ने भएको छ। रिक्त पदका लागि प्रतिस्पर्धामा रहेका चारै जना उम्मेदवारको अन्तर्वार्ता र व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण सम्पन्न भएको छ।
अर्थ मन्त्रालयद्वारा गठित छनोट तथा सिफारिस समितिका संयोजक महेश आचार्यका अनुसार अब चार उम्मेदवारमध्ये तीन जनाको नाम छनोट गरी मन्त्रिपरिषद्मा सिफारिस गरिनेछ। तर, यो प्रक्रिया दसैँको बिदा सकिएपछि मात्रै अघि बढ्ने उनले बताएका छन्।
नेप्सेको सीईओ बन्न प्रतिस्पर्धामा रहेका उम्मेदवारहरू अनिलराज पौडेल, नवराज सापकोटा, नारायणप्रसाद सापकोटा र प्रताप सुवेदी हुन्। उनीहरूको अन्तर्वार्ता गत असोज २३ गते सम्पन्न भएको थियो।
छनोट समितिले शैक्षिक योग्यता, व्यावसायिक कार्ययोजना र अन्तर्वार्ताको मूल्याङ्कनका आधारमा उत्कृष्ट तीन जनाको नाम सिफारिस गर्नेछ। त्यसपछि मन्त्रिपरिषद्ले सिफारिस गरिएका तीन जनामध्ये एक जनालाई नेप्सेको सीईओ नियुक्त गर्नेछ।
नेप्सेका तत्कालीन सीईओ चूडामणि चापागाईंले गत असार २२ गते राजीनामा दिएपछि उक्त पद रिक्त छ। नयाँ सीईओ नियुक्तिसँगै नेपालको पुँजी बजार सञ्चालन गर्ने प्रमुख संस्थाले नयाँ नेतृत्व पाउने अपेक्षा गरिएको छ।
यद्यपि, नयाँ सीईओको नियुक्ति मिति भने अहिलेसम्म निश्चित भइसकेको छैन।


















