Dhulikhel Eco Banner new

अब नेपाल टेलिकमको नयाँ सिम घरमै, अनलाइन आवेदन दिएपछि हुलाकबाट डेलिभरी

780
shares

काठमाडौं, २९ असोज। नेपाल टेलिकमले नयाँ प्रिपेड सिमकार्ड घरमै उपलब्ध गराउने ‘हुलाक सिम सेवा’ सुरु गरेको छ। यस सेवामार्फत अब सिम लिन टेलिकमको कार्यालय धाउनुपर्ने वा लामो लाइनमा बस्नुपर्ने बाध्यता हट्ने भएको छ।

नेपाल टेलिकम र हुलाक सेवा विभागको सहकार्यमा सुरु भएको यो सेवाको शुभारम्भ सूचना तथा सञ्चार प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले गरेका हुन्।

कसरी लिने घरमै सिम?

नयाँ सिम लिन चाहनेले नेपाल टेलिकमको अनलाइन पोर्टल मा गएर ‘पोस्टल सिम’ विकल्प छान्नुपर्नेछ। त्यसपछि आफ्नो नाम, जन्ममिति र ठेगानासहित आवश्यक विवरण भरेर नागरिकता वा राहदानीको अगाडि–पछाडिको स्पष्ट फोटो र आफ्नो फोटो अपलोड गर्नुपर्छ।

नेपाल टेलिकमले कागजात जाँच गरी आवेदन स्वीकृत गरेपछि अनलाइनबाटै भुक्तानी गर्न सकिन्छ। त्यसपछि नेपाल हुलाकमार्फत सिम ग्राहकको घरमै पुर्‍याइनेछ।

कति लाग्छ शुल्क?

नयाँ सिमका लागि ९० रुपैयाँ र हुलाकमार्फत घरसम्म पुर्‍याउन ७० रुपैयाँ गरी जम्मा १६० रुपैयाँ शुल्क लाग्नेछ। भुक्तानी बैंकिङ एप, डिजिटल वालेट वा नमस्ते पेमार्फत गर्न सकिने व्यवस्था छ।

सिम कहाँ पुग्यो भन्ने जानकारी अनलाइनबाटै हेर्न सकिन्छ। सिम प्राप्त भएपछि पोर्टलमा दिइएको निर्देशनअनुसार वा नयाँ सिमबाट *1414# डायल गरेर सक्रिय गर्न सकिनेछ।

यो सेवाले विशेषगरी टाढाका क्षेत्रमा बस्ने नागरिक, ज्येष्ठ नागरिक र कार्यालयसम्म पुग्न समय निकाल्न नसक्ने सेवाग्राहीलाई सहज हुने अपेक्षा गरिएको छ।