बीपी कोइराला क्यान्सर अस्पतालका समस्या समाधान गर्न सुधार समिति गठन
वि.सं.२०८३ असोज ३० शुक्रवार १०:२९
shares

काठमाडौं, ३० असोज। चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सेवा सुधारका उपाय सुझाउन अध्ययन समिति गठन गरिएको छ।
अस्पताल सञ्चालक समितिका सदस्य डा. डिल्लीराम भण्डारीको संयोजकत्वमा गठित समितिमा सञ्चालक सदस्यद्वय डा. शान्ति भुर्तेल र इशा प्रधान सदस्य रहेका छन्। अस्पताल सञ्चालक समितिले पूर्णता पाएपछि सुधारका लागि समिति गठन गरिएको हो।
अस्पतालका सूचना अधिकारी गृहीनारायण महतोका अनुसार गत वैशाख ६ देखि असोज २३ गतेसम्म कार्यकारी निर्देशकको जिम्मेवारी निमित्तले सम्हाल्दै आएका थिए। यस अवधिमा सञ्चालक समितिले पनि पूर्णता पाउन सकेको थिएन। असार १५ गते प्रा. डा. योगेन्द्रप्रसाद सिंह अध्यक्षमा नियुक्त भएका थिए भने सञ्चालक समितिका सदस्यहरू असोज ६ गते चयन भएका थिए।
नवनियुक्त कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्यका अनुसार चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित नहुँदा नयाँ खरिद प्रक्रिया, कर्मचारीको वृत्तिविकास तथा बढेको तलब भुक्तानीमा समस्या देखिएको थियो। यसबाट अस्पतालका कर्मचारीसँगै बिरामीसमेत प्रभावित भएका छन्। निःशुल्क उपलब्ध हुनुपर्ने केही सामग्रीसमेत अभाव हुँदा बिरामीले आफैँ खरिद गर्नुपर्ने अवस्था आएको उनले बताएका छन्।
अस्पताल प्रशासनले नीति तथा कार्यक्रम र बजेट पारित गर्ने तयारी गरिरहेको जनाएको छ। सुधार समितिले अध्ययन पूरा गरेपछि पहिचान भएका समस्या समाधानका लागि थप कदम चालिने अपेक्षा गरिएको छ।
देशका विभिन्न जिल्लाका साथै भारतबाट समेत बिरामी उपचारका लागि आउने यस अस्पतालमा सेवा प्रवाहलाई प्रभावकारी बनाउनु र बिरामीले भोग्दै आएका समस्या समाधान गर्नु चुनौतीपूर्ण विषय बनेको छ।















