Dhulikhel Eco Banner new

मञ्जुश्री फाइनान्सको २० प्रतिशत लाभांश प्रस्ताव, कात्तिक २० मा साधारणसभा

507
shares

काठमाडौं, ३० असोज। मञ्जुश्री फाइनान्स लिमिटेडले शेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश पारित गर्न कम्पनीले आगामी कात्तिक २० गते शुक्रबार १९औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

कम्पनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो। उक्त प्रस्ताव साधारणसभाबाट पारित भएपछि तथा आवश्यक नियामकीय स्वीकृति प्राप्त भएपछि मात्रै कार्यान्वयन हुनेछ।

कम्पनीको साधारणसभा काठमाडौंको नयाँबानेश्वरस्थित थापागाउँ ब्याङ्केटमा बिहान ११ बजे बस्नेछ। सभामा वार्षिक प्रतिवेदन, वित्तीय विवरण र लेखापरीक्षकको प्रतिवेदन पारित गर्नुका साथै अन्य नियमित प्रस्तावमाथि छलफल हुनेछ।

यसैगरी, कम्पनीले पुँजी वृद्धि गर्ने उद्देश्यले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४० लाख अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पनि सभामा पेस गर्नेछ। प्रस्तावअनुसार ४० करोड रुपैयाँ बराबरका ती शेयरमा वार्षिक ८.७५ प्रतिशत लाभांश दर रहनेछ। तर, लाभांश वितरण सम्बन्धित सर्त तथा लागू हुने नियामकीय व्यवस्थाअनुसार हुनेछ।

अग्राधिकार शेयर जारी गर्ने र बोनस शेयर वितरण गर्ने प्रस्तावसँगै कम्पनीको अधिकृत पुँजी १ अर्ब ३६ करोड रुपैयाँबाट बढाएर १ अर्ब ८३ करोड रुपैयाँ पुर्‍याउने प्रस्ताव पनि सभामा पेस गरिनेछ। यसका लागि कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डासमेत राखिएको छ। अग्राधिकार शेयर जारी गर्न सम्बन्धित नियामक निकायको स्वीकृति आवश्यक पर्नेछ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले कात्तिक ११ गते शेयर दाखिल खारेज बन्द गर्ने जनाएको छ। त्यसअनुसार कात्तिक १० गतेसम्म कारोबार भई तोकिएको प्रक्रियाअनुसार शेयरधनीको नाममा कायम भएका शेयरधनीले साधारणसभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।