Dhulikhel Eco Banner new

हिम पर्वत हाइड्रोपावरको आईपीओ खुल्यो : पहिलो चरणमा स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई अवसर

650
shares

दोलखामा दुईवटा जलविद्युत आयोजना सञ्चालन गरिरहेको हिम पर्वत हाइड्रोपावर लिमिटेडले आइतबार (कात्तिक ११ गते) देखि आफ्नो प्राथमिक शेयर (आईपीओ) निष्कासन गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र श्रम स्वीकृति लिएर विदेशमा पसिना बगाइरहेका नेपाली श्रमिकका लागि शेयर बिक्री खुला गरेको हो।

जारी पुँजी १ अर्ब ६९ करोड रुपैयाँ रहेको यस कम्पनीले कुल ५९ लाख १५ हजार कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको छ। यसमध्ये १६ करोड ९० लाख रुपैयाँ बराबरको १६ लाख ९० हजार कित्ता शेयर दोलखाका स्थानीयलाई छुट्याइएको छ। बिगु र कालिन्चोक गाउँपालिकाका अति प्रभावित वडाहरू (बिगुका ५, ६, ७, ८ र कालिन्चोकका २, ३, ४) का बासिन्दाले १० लाख १४ हजार कित्ता र यी दुई पालिकाका अन्य वडावासीले ६ लाख ७६ हजार कित्ता शेयरमा आवेदन दिन पाउनेछन्। त्यसैगरी, सर्वसाधारणतर्फ निष्कासन हुने शेयरमध्ये १० प्रतिशत अर्थात् ४ लाख २२ हजार ५ सय कित्ता शेयर भने वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि सुरक्षित गरिएको छ।

बिक्री प्रबन्धक सिटिजन्स क्यापिटलका अनुसार लगानीकर्ताले कम्तीमा १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि मागदाबी गर्न सक्नेछन्। वैदेशिक रोजगारमा रहेका नेपालीले छिटोमा कात्तिक १६ गते र ढिलोमा कात्तिक २५ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ भने स्थानीय बासिन्दाका लागि कात्तिक २५ गते (पूर्ण आवेदन नपरेमा ढिलोमा मंसिर १० गते) सम्मको म्याद तोकिएको छ। विदेशमा रहेकाहरूले ‘मेरो शेयर’ मार्फत सहजै अनलाइन आवेदन दिन सक्नेछन्। तर, स्थानीय बासिन्दाले भने तोकिएका बैंकका शाखा (नेपाल इन्भेष्टमेन्ट, प्रभु र सिन्धु विकास बैंकको सिंगटी शाखा, लक्ष्मी सनराइजको सुनखानी काउन्टर र सिटिजन्स बैंकको चरिकोट शाखा) बाट २ रुपैयाँ शुल्क तिरेर भौतिक फारम भर्नुपर्नेछ।

इक्रा नेपालले यो आईपीओलाई ‘डबल बी प्लस’ रेटिङ दिएको छ, जसले कम्पनीको वित्तीय दायित्व वहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको औंल्याउँछ। हाल कम्पनीले दोलखामा २० मेगावाटको साँगु खोला र ५.५ मेगावाटको साँगु खोला–१ जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। यी दुवै आयोजनाले गत वर्ष (२०८२ साल) को साउन र असोजदेखि नै नियमित रूपमा विद्युत् उत्पादन गर्दै आएका छन्। झन्डै ४ अर्ब ८० करोड कुल लागतमा निर्माण भएका यी दुवै आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्र अझै २८ वर्ष बाँकी रहेको कम्पनीले जनाएको छ।