बीमा क्षेत्रमा महिला ग्राहक अगाडि, निर्णय गर्ने तहमा अझै पछाडि
वि.सं.२०८३ कात्तिक १७ मंगलवार १०:३९
shares

काठमाडौं, १७ कात्तिक। नेपालको बीमा क्षेत्रमा महिला ग्राहकको सहभागिता पुरुषको तुलनामा बढी देखिए पनि कम्पनीको नेतृत्व र निर्णय प्रक्रियामा भने महिलाको उपस्थिति कमजोर रहेको पाइएको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको लैंगिक समावेशितासम्बन्धी अध्ययन प्रतिवेदनले बीमा बजारमा महिला ग्राहकको पहुँच विस्तार भए पनि संस्थागत नेतृत्वमा पुरुषकै वर्चस्व कायम रहेको देखाएको हो।
नेपाल बीमा प्राधिकरणले ‘एक्सेस टु इन्स्योरेन्स इनिसिएटिभ’ (A2ii) को ‘फेमा-मिटर’ (Fema-Meter) ढाँचामा आधारित रहेर तयार पारेको अध्ययन ३५ वटा अनुमतिप्राप्त बीमा कम्पनीमा गरिएको हो। अध्ययनमा १४ जीवन बीमा, १४ निर्जीवन बीमा, ३ लघु जीवन बीमा र ४ लघु निर्जीवन बीमा कम्पनी समेटिएका छन्।
जीवन बीमामा महिलाको हिस्सा ५७ प्रतिशत
अध्ययनअनुसार परम्परागत जीवन बीमाका कुल पोलिसीधारकमध्ये ५७ प्रतिशत महिला र ४३ प्रतिशत पुरुष छन्। बीमित जीवनको संख्यामा पनि महिलाको हिस्सा ५८ प्रतिशत र पुरुषको ४२ प्रतिशत रहेको छ।
लघु जीवन बीमामा महिलाको सहभागिता अझ बढी छ। यस क्षेत्रमा कुल बीमितमध्ये ६२ प्रतिशत महिला र ३८ प्रतिशत पुरुष रहेको प्रतिवेदनमा उल्लेख छ।
यद्यपि, ग्राहकको संख्यामा महिलाको उपस्थिति बढी भए पनि प्रिमियम भुक्तानीमा पुरुष अगाडि देखिएका छन्। जीवन बीमामा पुरुषले औसत ४२ हजार ५९२ रुपैयाँ प्रिमियम भुक्तानी गर्दा महिलाले औसत २१ हजार ५४ रुपैयाँ मात्रै तिर्ने गरेका छन्।
त्यस्तै, दाबी गर्ने सम्भावना पुरुषमा ३.८ प्रतिशत र महिलामा १.८ प्रतिशत रहेको छ। यसले जीवन बीमामा महिलाको सहभागिता संख्यात्मक रूपमा बढी भए पनि प्रिमियम भुक्तानी र दाबीसम्बन्धी सूचकमा लैंगिक अन्तर रहेको देखाउँछ।
निर्जीवन बीमामा महिलाको पहुँच कमजोर
जीवन बीमाको तुलनामा निर्जीवन तथा लघु निर्जीवन बीमामा महिलाको सहभागिता कमजोर देखिएको छ।
लघु निर्जीवन बीमाअन्तर्गत साना व्यवसाय बीमाका कुल पोलिसीधारकमध्ये ५९ प्रतिशत पुरुष र १६ प्रतिशत महिला छन्। बाँकी २५ प्रतिशतको लैंगिक विवरण खुल्न नसकेको प्रतिवेदनमा उल्लेख छ।
बीमितको संख्याका आधारमा पुरुषको हिस्सा ६६ प्रतिशत र महिलाको १७ प्रतिशत रहेको छ। लैंगिक विवरण व्यवस्थित रूपमा संकलन नहुँदा यस क्षेत्रमा महिलाको वास्तविक सहभागिता पहिचान गर्नसमेत कठिन भएको अध्ययनले देखाएको छ।
विशेषगरी महिला उद्यमी, साना व्यवसायी तथा कृषकलाई लक्षित गरी बीमा योजनाको पहुँच विस्तार गर्नुपर्ने आवश्यकता प्रतिवेदनले औंल्याएको छ।
सञ्चालक समितिदेखि व्यवस्थापनसम्म पुरुषकै वर्चस्व
बीमा क्षेत्रमा महिला ग्राहकको सहभागिता बढ्दै गए पनि कम्पनीको नेतृत्व र निर्णय प्रक्रियामा भने उनीहरूको प्रतिनिधित्व निकै न्यून छ।
जीवन बीमा कम्पनीहरूको सञ्चालक समितिमा ७८ प्रतिशत पुरुष र २२ प्रतिशत महिला छन्। कार्यकारी व्यवस्थापन अर्थात् प्रमुख कार्यकारी अधिकृत र उनीहरूअन्तर्गतका प्रत्यक्ष जिम्मेवार पदमा पुरुषको हिस्सा ८७ प्रतिशत हुँदा महिलाको प्रतिनिधित्व १३ प्रतिशत मात्रै छ। त्यस्तै, व्यवस्थापक तहमा ७४ प्रतिशत पुरुष र २६ प्रतिशत महिला रहेका छन्।
निर्जीवन बीमा कम्पनीहरूको सञ्चालक समितिमा पुरुषको प्रतिनिधित्व ८१ प्रतिशत र महिलाको १९ प्रतिशत छ। कार्यकारी व्यवस्थापन तहमा पनि ७८ प्रतिशत पुरुष र २२ प्रतिशत महिला छन्।
यी तथ्यांकले बीमा क्षेत्रमा महिलाको भूमिका ग्राहक तथा सेवा विस्तारमा बढ्दै गए पनि संस्थागत निर्णय, नीति निर्माण र नेतृत्व तहमा समान सहभागिता स्थापित हुन नसकेको देखाउँछन्।
बीमा अभिकर्तामा भने महिलाको उपस्थिति बलियो
नेतृत्व तहमा कमजोर प्रतिनिधित्व भए पनि बीमा अभिकर्ताका रूपमा महिलाको सहभागिता उल्लेख्य छ।
प्रतिवेदनअनुसार जीवन बीमाका इजाजतपत्र प्राप्त अभिकर्तामध्ये ४४ प्रतिशत महिला छन्। लघु जीवन बीमामा महिला अभिकर्ताको हिस्सा ४६ प्रतिशत र लघु निर्जीवन बीमामा ४४ प्रतिशत रहेको छ।
यसले बीमा सेवा विस्तार र ग्राहकसम्म पहुँच पुर्याउने काममा महिलाको भूमिका महत्वपूर्ण रहेको पुष्टि गर्छ। तर, अभिकर्ताका रूपमा सक्रिय महिलालाई व्यवस्थापन तथा नेतृत्व तहसम्म पुर्याउने विषय भने चुनौतीका रूपमा रहेको छ।
समान अवसरको नीति, तर पारिश्रमिक समीक्षाको अभ्यास छैन
अध्ययनले बीमा कम्पनीहरूको आन्तरिक नीतिमा पनि लैंगिक समानताको अवस्था विश्लेषण गरेको छ।
अध्ययनमा सहभागी जीवन तथा लघु जीवन बीमा कम्पनीहरूले समान अवसरसम्बन्धी रोजगार नीति लागू गरेको बताएका छन्। तर, लैंगिक आधारमा पारिश्रमिक पुनरावलोकन गर्ने अभ्यास भने कुनै पनि कम्पनीमा नरहेको प्रतिवेदनले देखाएको छ।
यसले नीतिगत रूपमा समान अवसरको व्यवस्था भए पनि व्यवहारमा पारिश्रमिक समानता, महिलाको वृत्ति विकास र अवसरको उपलब्धतामा थप सुधार आवश्यक रहेको संकेत गरेको छ।
लैंगिक समावेशिता बढाउन प्राधिकरणका सुझाव
बीमा क्षेत्रमा महिला सहभागिता र नेतृत्व विस्तारका लागि प्राधिकरणले विभिन्न सुधारका उपाय सुझाएको छ।
प्रतिवेदनले सबै बीमा कम्पनीमा मानक लैंगिक प्रतिवेदन प्रणाली लागू गरी महिला र पुरुषको सहभागितासम्बन्धी छुट्टाछुट्टै तथ्यांक संकलन गर्नुपर्नेमा जोड दिएको छ।
त्यस्तै, महिला नेतृत्व विकासका कार्यक्रम सञ्चालन, तालिम तथा मेन्टरिङको व्यवस्था र पदोन्नतिमा समावेशी नीति अवलम्बन गर्नुपर्ने सुझाव दिइएको छ।
निर्जीवन बीमामा महिला उद्यमी, साना व्यवसायी तथा कृषकलाई लक्षित सुलभ बीमा योजना ल्याउन तथा महिलाको वित्तीय र बीमा साक्षरता अभिवृद्धि गर्न पनि प्रतिवेदनले सिफारिस गरेको छ।
समग्रमा नेपालको बीमा क्षेत्रमा महिलाको ग्राहक सहभागिता र अभिकर्ताका रूपमा उपस्थिति बढ्दै गएको भए पनि त्यसअनुरूप संस्थागत नेतृत्वमा प्रतिनिधित्व बढ्न सकेको छैन। बीमा बजारमा महिलाको पहुँच विस्तारसँगै उनीहरूलाई निर्णय प्रक्रिया, व्यवस्थापन र नेतृत्व तहमा समान अवसर प्रदान गर्नु क्षेत्रको लैंगिक समावेशिताका लागि महत्वपूर्ण देखिएको छ।



















