नाडाद्वारा सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौं जिल्ला प्रशासन कार्यालयलाई सहयोग सामग्री हस्तान्तरण
वि.सं.२०८३ कात्तिक १८ बुधवार १५:००
shares

काठमाडौं, १८ कात्तिक। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत जिल्ला प्रशासन कार्यालय, काठमाडौंलाई आवश्यक सामग्री हस्तान्तरण गरेको छ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बुधबार जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसँग भेटघाट गरी समसामयिक विषयमा छलफल गरेको हो।
भेटघाटका क्रममा अध्यक्ष उप्रेतीले नाडाका तर्फबाट जिल्ला प्रशासन कार्यालयलाई आवश्यक सामग्री हस्तान्तरण गरेका थिए। उक्त सहयोग नाडाको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उपलब्ध गराइएको जनाइएको छ।
नाडाले राष्ट्रिय विपत्ति तथा विभिन्न आपत्कालीन परिस्थितिमा आवश्यकताअनुसार सम्बन्धित संघसंस्था तथा सरकारी कार्यालयहरूलाई विभिन्न सामग्री र सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ। संस्थाका अनुसार यस्ता सहयोगात्मक गतिविधिले सामाजिक उत्तरदायित्व निर्वाह गर्नुका साथै राज्यका निकायहरूसँगको सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउन सहयोग पुर्याउने विश्वास लिइएको छ।
उक्त भेटघाट तथा सामग्री हस्तान्तरण कार्यक्रममा नाडाका उपाध्यक्ष विक्रम सिंघानिया, महासचिव मिलनबाबु मल्ल, सचिव मेघराज पौडेल तथा केन्द्रीय कार्यसमिति सदस्यहरू दीपककुमार अग्रवाल र नारायणप्रसाद पौडेलको उपस्थिति रहेको थियो।
नाडाले आगामी दिनमा पनि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता सहयोगात्मक तथा रचनात्मक गतिविधिलाई निरन्तरता दिँदै सम्बन्धित सरकारी निकाय तथा संघसंस्थासँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।



















