Dhulikhel Eco Banner new

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम साढे ७ अर्ब नाघ्यो

507
shares

काठमाडौं, १८ कात्तिक। बुधबार शेयर बजारमा सामान्य अंकको वृद्धि भएको छ। अघिल्लो कारोबार दिन मंगलबार पनि सामान्य अंकले बढेर बन्द भएको नेप्सेले बुधबार पनि सोही प्रवृत्तिलाई निरन्तरता दिएको हो।

यस दिन नेप्से परिसूचक १.४० अंकले बढेर २ हजार ६६५.५३ विन्दुमा पुगेको छ। यद्यपि, सेन्सेटिभ इण्डेक्स २.६९ अंकले घटेको छ। त्यस्तै, फ्लोट इण्डेक्स ०.४४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९९ अंकले घटेका छन्।

नेप्से परिसूचकसँगै यस दिन कारोबार रकममा पनि वृद्धि भएको छ। मंगलबार ५ अर्ब ६५ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको बजारमा बुधबार ३५८ स्टकको ५९ हजार १८५ पटकको कारोबारमा ७ अर्ब ४३ करोड ९३ लाख ६६ हजार रुपैयाँबराबरको २ करोड १२ लाख २३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन नेपाल पुनर्बीमा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कम्पनीको शेयरमूल्य १२० रुपैयाँ २० पैसाले बढेर ९२१ रुपैयाँ ७० पैसा पुगेको छ। मन्त्रिपरिषद्को बैठकले नेपाल पुनर्बीमा कम्पनीमा नेपाल सरकारको थप हकप्रद शेयर लगानी गर्न सहमति प्रदान गर्ने निर्णय गरेसँगै कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि देखिएको हो।

त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको शेयरमूल्य साढे ११ प्रतिशत र श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको शेयरमूल्य साढे ८ प्रतिशतले बढेको छ। कारोबारमा आएको सिभिल बैंक डिबेञ्चर २०८८ को मूल्य भने यस दिन सर्वाधिक ६.३४ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन शीर्ष स्थानमा रहेको छ। कम्पनीको यस दिन ८५ करोड ८४ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, घोराही सिमेन्ट इण्डष्ट्रीको ५१ करोड रुपैयाँभन्दा बढी र हिमालयन रि इन्स्योरेन्सको ३६ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। अन्य उपसमूहको परिसूचक सर्वाधिक ६.१८ प्रतिशतले बढेको छ। त्यस्तै, व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले बढेको छ भने जीवन बीमा र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अंकले बढेको छ।