३४ अर्बको कोटेश्वर टनेल तथा फ्लाइओभर परियोजनाका लागि चार महिनाभित्र ग्लोबल टेन्डर आह्वान गरिने
वि.सं.२०८३ कात्तिक १८ बुधवार १६:३१
shares

काठमाडौं, १८ कात्तिक। सरकारले कोटेश्वर टनेल तथा फ्लाइओभर परियोजनाका लागि आगामी चार महिनाभित्र अन्तर्राष्ट्रिय परामर्शदाता छनोट गर्न ग्लोबल टेन्डर आह्वान गर्ने तयारी गरेको छ। करिब ३४ अर्ब रुपैयाँ लागत अनुमान गरिएको उक्त परियोजनाका लागि अन्तर्राष्ट्रिय परामर्शदाता छनोट गर्न लागिएको हो।
प्रस्तावित १.८ किलोमिटर लामो बहुस्तरीय सडक संरचनाअन्तर्गत जडीबुटीमा ४४० मिटर लामो फ्लाइओभर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमुनि ६४० मिटर लामो भूमिगत सुरुङमार्ग र तीनकुनेमा ४०० मिटर लामो फ्लाइओभर निर्माण गरिनेछ।
परियोजनाका लागि जापानले करिब ३१ अर्ब ७६ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण उपलब्ध गराउनेछ। उक्त ऋणको वार्षिक ब्याजदर ०.२ प्रतिशत रहनेछ। ऋण भुक्तानीका लागि ३० वर्षको अवधि र १० वर्षको ग्रेस अवधि तोकिएको छ।
यसअघि विमानस्थलको जग्गाको मुआब्जा तथा तीनकुने क्षेत्रको जग्गासम्बन्धी विवादका कारण परियोजना अघि बढ्न ढिलाइ हुँदै आएको छ।
त्यसैगरी, प्रस्तावित रत्नपार्क–सूर्यविनायक मेट्रो रेल परियोजनालाई समेत ध्यानमा राखेर कोटेश्वर टनेल तथा फ्लाइओभरको डिजाइन तयार गरिने जनाइएको छ।
परियोजना सम्पन्न भएपछि कोटेश्वर, जडीबुटी र तीनकुने क्षेत्रमा बढ्दै गएको सवारी चाप व्यवस्थापन तथा काठमाडौं उपत्यकाको यातायात आवागमन सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।



















