Dhulikhel Eco Banner new

पत्रकारिता गर्ने सामाजिक सञ्जालका पेज र इन्फ्लुएन्सर प्रेस काउन्सिलको आचारसंहिताभित्र समेटिँदै

364
shares

काठमाडौं, १९ कात्तिक । सरकारले पत्रकारितासम्बन्धी गतिविधि सञ्चालन गर्ने सामाजिक सञ्जालका समाचार पेज, इन्फ्लुएन्सर तथा कन्टेन्ट क्रिएटरलाई प्रेस काउन्सिल नेपालको आचारसंहिताको दायरामा ल्याउने तयारी गरेको छ।

प्रस्तावित व्यवस्थाअनुसार सामाजिक सञ्जालमार्फत समाचार तथा पत्रकारितासँग सम्बन्धित सामग्री प्रकाशन गर्ने पेज र व्यक्तिहरूले प्रेस काउन्सिलको आचारसंहिता पालना गर्नुपर्नेछ।

तर व्यक्तिगत विचार, आलोचना, हास्यव्यङ्ग्य, मनोरञ्जन तथा मिम्स (Meme) सम्बन्धी सामग्री प्रकाशन गर्ने र पत्रकारिताको अभ्यास नगर्ने पेज तथा सिर्जनाकर्ता भने यस व्यवस्थाको दायरामा पर्ने छैनन्।

यससम्बन्धी अध्यादेश मन्त्रिपरिषद्बाट सिफारिस भई राष्ट्रपतिसमक्ष स्वीकृतिका लागि पठाइएको छ। राष्ट्रपतिबाट जारी भएपछि अध्यादेशले कानुनी मान्यता प्राप्त गर्नेछ।

प्रस्तावित व्यवस्थाले सामाजिक सञ्जालमा पत्रकारिताको अभ्यास गर्ने डिजिटल प्लेटफर्म तथा सामग्री सिर्जनाकर्तालाई पनि पत्रकारितासम्बन्धी आचारसंहिताको दायरामा ल्याउनेछ।