बाढीपछि पुनः सञ्चालनमा आएको इङ्वा हाइड्रोपावरको नाफा ३४ प्रतिशतले बढ्यो
वि.सं.२०८३ कात्तिक १९ बिहीवार १०:३२
shares

काठमाडौं, १९ कात्तिक । भीषण बाढीका कारण विद्युत् उत्पादन बन्द भएर क्षति व्यहोरेको इङ्वा हाइड्रोपावर लिमिटेड (IHL) ले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नाफा बढाउन सफल भएको छ।
कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा ७५ लाख २४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा कमाएको ५६ लाख १ हजार रुपैयाँको तुलनामा ३४.३२ प्रतिशत बढी हो।
ताप्लेजुङ र पाँचथर जिल्लामा अवस्थित ९.७ मेगावाट क्षमताको माथिल्लो इङ्वा खोला जलविद्युत् आयोजना जेठ २०८३ मा आएको भीषण बाढीका कारण पूर्ण रूपमा बन्द भएको थियो। तर, कम्पनीको व्यवस्थापनले छोटो समयमै पुनर्निर्माण सम्पन्न गरी विद्युत् उत्पादन पुनः सञ्चालनमा ल्याएपछि वित्तीय अवस्थामा सुधार आएको हो।
बाढीका कारण आयोजना ठप्प भएपछि कम्पनीले साउन २१ गते युनिट १ र भदौ २३ गते युनिट २ पुनः सञ्चालनमा ल्याएको थियो। उत्पादन आंशिक अवधिका लागि मात्र सञ्चालनमा रहे पनि समीक्षा अवधिमा कम्पनीले विद्युत् बिक्रीबाट ४ करोड ८४ लाख रुपैयाँ आम्दानी गरेको छ।
यसका अतिरिक्त, आयोजनामा भएको भौतिक क्षति र उत्पादन अवरोध (LOP) बापत बीमा कम्पनीबाट २ करोड रुपैयाँ अग्रिम दाबी भुक्तानी प्राप्त भएको छ। उक्त रकमले कम्पनीको वित्तीय अवस्थालाई थप बलियो बनाउन सहयोग गरेको छ। यससँगै कम्पनीको सञ्चालन मुनाफा ३ करोड ३० लाख ४९ हजार रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च पनि घटेको छ। गत वर्ष ३ करोड ४ लाख रुपैयाँ रहेको वित्तीय खर्च चालु आर्थिक वर्षको पहिलो त्रैमासमा घटेर २ करोड ५३ लाख रुपैयाँमा सीमित भएको छ। वित्तीय खर्चमा आएको कमीले समेत नाफा वृद्धिमा सहयोग पुर्याएको छ।
कम्पनीको चुक्ता पुँजी ६० करोड रुपैयाँ रहेको छ भने जगेडा तथा कोष ५ करोड ३९ लाख रुपैयाँ ऋणात्मक रहेको छ।
वित्तीय परिसूचकअनुसार कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी गत वर्षको ३ रुपैयाँ ७३ पैसाबाट बढेर ५ रुपैयाँ २ पैसा पुगेको छ। यस्तै, कम्पनीको प्रतिशेयर नेटवर्थ ९१ रुपैयाँ रहेको छ।



















