Dhulikhel Eco Banner new

युबेश धौभडेलको ‘कन्फ्लुएन्स अफ फेस्टिभल्स’ तस्बिरपुस्तक सार्वजनिक हुँदै

728
shares

काठमाडौं, ३ मंसिर । फोटोग्राफर तथा दृश्य कथाकार युबेश धौभडेलले काठमाडौं उपत्यकाका सांस्कृतिक परम्परा, जात्रा, धार्मिक अनुष्ठान र सामुदायिक जीवन समेटिएको तस्बिरपुस्तक Confluence of Festivals: Temple Town to the World — An Invitation to Nepa Dey  सार्वजनिक गर्ने भएका छन्।

भक्तपुर, काठमाडौं र ललितपुरका सांस्कृतिक तथा धार्मिक गतिविधिलाई केन्द्रमा राखेर तयार पारिएको पुस्तकमा पछिल्लो एक दशकको अवधिमा खिचिएका तस्बिरहरू समावेश गरिएको धौभडेलद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

पुस्तकमा काठमाडौं उपत्यकाका विभिन्न पर्व, जात्रा, धार्मिक अनुष्ठान, सांस्कृतिक प्रस्तुति तथा दैनिक जनजीवनसँग सम्बन्धित दृश्यहरू समेटिएका छन्। यसमा भक्तजन, कलाकार, सङ्गीतकर्मी, स्वयंसेवक, परिवार र स्थानीय समुदायको सहभागितामार्फत परम्पराहरूको निरन्तरतासम्बन्धी पक्षलाई प्रस्तुत गरिएको छ।

धौभडेलका अनुसार पुस्तकले नेपालमण्डलको सांस्कृतिक पहिचान, सामूहिक स्मृति र पुस्तौँदेखि चल्दै आएका परम्परालाई तस्बिरमार्फत अभिलेखीकरण गर्ने उद्देश्य राखेको छ।

भक्तपुरमा जन्मिएका धौभडेलले नेपाल, बेलायत र संयुक्त राज्य अमेरिकामा शिक्षा तथा कार्यानुभव हासिल गरेका छन्। उनको सिर्जनात्मक कामले फोटोग्राफीमार्फत सांस्कृतिक पहिचान, सम्पदा, स्मृति र समावेशिताका विषयलाई समेट्दै आएको छ।

यसअघि धौभडेलको Confluence of Festivals नामकै फोटोग्राफी प्रदर्शनी अमेरिकाको कोलोराडोस्थित अरोरा हिस्ट्री म्युजियममा आयोजना गरिएको थियो। सन् २०२५ फेब्रुअरी १८ देखि जुन १५ सम्म सञ्चालन भएको उक्त प्रदर्शनीमा नेपालका पर्व तथा सांस्कृतिक परम्परासम्बन्धी तस्बिरहरू प्रस्तुत गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ। उनका तस्बिरहरू Sony Alpha Universe मा समेत प्रकाशित भएका छन्।

पुस्तकको लोकार्पण कार्यक्रम सन् २०२६ नोभेम्बर २० अर्थात् मंसिर ४ गते काठमाडौंको ठमेलस्थित केजीएच ठमेलमा आयोजना हुने जनाइएको छ। कार्यक्रम म्युजियम अफ नेपाली आर्ट्स (मोना) को सहकार्यमा हुन लागेको हो।

प्रेस विज्ञप्तिअनुसार पुस्तक लोकार्पनसँगै लेखकसँगको अन्तरक्रिया, प्रदर्शनी तथा हस्ताक्षर कार्यक्रमसम्बन्धी थप जानकारी लेखकको वेबसाइट र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिनेछ।

पुस्तक लोकार्पनपछि मोना तथा काठमाडौं आर्ट हाउसबाट खरिद गर्न सकिने र अनलाइनमार्फत ब्लर्ब (Blurb) को वेबसाइटमा समेत उपलब्ध हुने जानकारी विज्ञप्तिमा दिइएको छ।

पुस्तकमा समेटिएका तस्बिरले काठमाडौं उपत्यकाका सांस्कृतिक अभ्यास, सामुदायिक सहभागिता र परम्परागत पर्वहरूको दृश्य अभिलेख प्रस्तुत गर्ने लेखकको भनाइ छ।