नेपाल–फिनल्यान्ड व्यापारिक साझेदारी विस्तारमा जोड, चेम्बरको चौथो साधारणसभा सम्पन्न
वि.सं.२०८३ मंसिर ९ बुधवार १६:५२
shares

काठमाडौं, ९ मंसिर । नेपाल–फिनल्यान्ड चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
काठमाडौंको लाजिम्पाटस्थित दुसित प्रिन्सेस होटलमा बुधबार (नोभेम्बर २५) आयोजित साधारणसभामा नेपालका लागि फिनल्यान्डका राजदूत पेट्री पुहाक्कालाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएको थियो ।
कार्यक्रममा चेम्बरका अध्यक्ष प्रज्वल जंग पाण्डेले सन् २०२२ मा स्थापना भएको संस्थाले नेपाल र फिनल्यान्डबीच आर्थिक कूटनीति तथा व्यापारिक सम्बन्ध विस्तारमा काम गरिरहेको बताए । नेपाली उत्पादनलाई फिनल्यान्डको बजारसम्म पुर्याउने, द्विपक्षीय व्यापार प्रवर्द्धन गर्ने र लगानीका नयाँ अवसर पहिचान गर्ने संस्थाको प्राथमिकता रहेको उनको भनाइ थियो ।
पाण्डेले फिनल्यान्डको प्रविधि र नवप्रवर्तनलाई नेपालको प्राकृतिक स्रोत, पर्यटन तथा व्यावसायिक सम्भावनासँग जोडेर नयाँ साझेदारी विकास गर्न सकिने बताए । दुवै देशका व्यवसायी तथा लगानीकर्ताबीच सहकार्यका लागि चेम्बरले समन्वयकारी भूमिका खेल्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
चेम्बरका मानार्थ सदस्य राजेश काजी श्रेष्ठले नेपाली उत्पादनको निर्यात सम्भावना र फिनल्यान्डमा बजार विस्तारका लागि भइरहेका प्रयासबारे जानकारी दिए । नेपाली चिया, गलैँचा, कफी, हस्तनिर्मित सामग्री, हर्बल साबुन, नेपाली कागज र जुत्तालगायत वस्तुको बजार प्रवर्द्धनमा काम भइरहेको उनले बताए । विशेषगरी नेपाली कफी, नेपाली कागज र गोल्डस्टार जुत्ताको ब्रान्ड प्रवर्द्धनका लागि पहल गरिएको उनको भनाइ थियो ।

श्रेष्ठले व्यापारका अतिरिक्त शिक्षा, प्रविधि, पर्यटन र लगानीका क्षेत्रमा पनि सहकार्य बढाउनुपर्नेमा जोड दिए । यसका लागि फिनल्यान्डको दूतावास, फिनपार्टनरसिप तथा त्यहाँका व्यावसायिक संस्थासँगको सहकार्यलाई प्रभावकारी बनाउनुपर्ने उनले बताए ।
प्रमुख अतिथि राजदूत पुभाक्काले नेपाल र फिनल्यान्डबीचको व्यापारिक कारोबार अपेक्षाकृत कम भए पनि यसको विस्तारका लागि प्रशस्त सम्भावना रहेको उल्लेख गरे । जलविद्युत्, पर्यटन, सूचना प्रविधि, कृषि व्यवसाय र उद्यमशीलतामा नेपालसँग अवसर रहेको बताउँदै उनले फिनल्यान्डको प्रविधि, नवप्रवर्तन र दिगो व्यावसायिक अभ्यासबाट दुई देशले लाभ लिन सक्ने धारणा राखे ।
उनले स्वच्छ ऊर्जा, चक्रीय अर्थतन्त्र, शिक्षा तथा प्रविधिका क्षेत्रमा सहकार्य विस्तार गर्न निजी क्षेत्रको सक्रियता आवश्यक रहेको बताए । दुवै देशका व्यवसायीलाई जोड्ने र नयाँ व्यावसायिक साझेदारीको वातावरण बनाउने काममा चेम्बरको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो ।
साधारणसभाका अवसरमा पर्यटन क्षेत्रमा योगदान पुर्याएको भन्दै शिव ढकाललाई ‘टुरिज्म एक्सिलेन्स अवार्ड’ प्रदान गरिएको थियो । त्यसैगरी व्यापार क्षेत्रमा योगदान पुर्याएका उत्तम सिलवाललाई ‘ट्रेड एक्सिलेन्स अवार्ड’ र चेम्बरलाई विशेष सहयोग तथा योगदान दिएका राजेश काजी श्रेष्ठलाई ‘आउटस्ट्यान्डिङ सपोर्ट अवार्ड’बाट सम्मान गरिएको थियो ।

कार्यक्रमको समापनमा चेम्बरका वरिष्ठ उपाध्यक्ष विश्वेश श्रेष्ठले सहभागी, अतिथि, सहयोगी तथा सदस्यहरूप्रति आभार व्यक्त गरे । उनले साधारणसभाले नेपाल र फिनल्यान्डबीचको व्यापारिक, आर्थिक तथा संस्थागत सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

















