Dhulikhel Eco Banner new

रेड बुल १३औँ कृति अवार्ड्सको निर्णायक अभिमुखीकरण कार्यक्रम सम्पन्न

832
shares

काठमाडौं, ९ मंसिर । नेपाल विज्ञापन संघ (आन) को आयोजनामा भइरहेको ‘रेड बुल १३औँ कृति अवार्ड्स २०८३’ अन्तर्गत निर्णायक मण्डलका लागि आयोजित अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा निर्णायक मण्डलका अध्यक्ष प्रा. डा. विजय केसी तथा वरिष्ठ निर्णायकहरू रवीन्द्रमान श्रेष्ठ र भारती सिलवाल गिरीले सहभागी निर्णायकहरूलाई मनोनयन मूल्याङ्कनका मापदण्ड, प्रक्रिया तथा आचारसंहिताबारे विस्तृत जानकारी गराएका थिए ।

यस वर्षको कृति अवार्ड्सका लागि विज्ञापन, बजार व्यवस्थापन, डिजिटल मार्केटिङ तथा बजार सञ्चारका विभिन्न विशिष्टीकृत विधाका विज्ञहरूलाई निर्णायक मण्डलमा समावेश गरिएको छ । त्यस्तै, सङ्गीत, कला तथा साहित्य, ग्राफिक डिजाइन, डिजिटल प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता सिर्जनात्मक तथा प्राविधिक क्षेत्रका प्रबुद्ध व्यक्तित्वहरूलाई समेत समेटेर बहुविधागत निर्णायक टोली गठन गरिएको छ ।

आन कार्यसमितिको कार्यादेशअनुसार सम्बन्धित विधामा योगदान र विज्ञताका आधारमा छनोट गरी आमन्त्रण गरिएका निर्णायकहरूले अवार्डका लागि प्राप्त मनोनयनहरूको मूल्याङ्कन गर्नेछन् ।

अवार्डलाई थप मर्यादित, निष्पक्ष, विश्वसनीय र प्रभावमुक्त बनाउन आनको कार्यसमिति निर्णायक छनोट प्रक्रियाबाट पूर्ण रूपमा अलग रहेको संघले जनाएको छ । निर्णायक छनोट तथा मूल्याङ्कन प्रक्रियामा कार्यसमितिका कुनै पनि पदाधिकारी वा सदस्यको संलग्नता नरहेको पनि संघले स्पष्ट पारेको छ ।

ऊर्जा पेय रेड बुल मुख्य प्रायोजक रहेको यस वर्षको कृति अवार्ड्समा डिजिटल प्लेटफर्म इनमार्कको ‘इन एसोसिएसन विथ’ प्रायोजन रहेको छ । त्यस्तै, जीएमडब्ल्यू ओरा, कोका–कोला र यति इन्टरनेसनल कलेज ‘पावर्ड बाई’ प्रायोजकका रूपमा रहेका छन् ।

यस सम्बन्धमा थप जानकारी आवश्यक परेमा आनको सचिवालयको फोन नम्बर ०१४७५०६३ मा सम्पर्क गर्न सकिनेछ ।