Dhulikhel Eco Banner new

दुई जलविद्युत् कम्पनीले मागे आईपीओ निष्कासनको अनुमति

962
shares

काठमाडौं, ९ मंसिर । दुई जलविद्युत् कम्पनीले प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएका छन्। अनुमति माग्ने कम्पनीमा मिडिल मोदी हाइड्रोपावर लिमिटेड र सिद्धि हाइड्रोपावर लिमिटेड रहेका छन्।

मिडिल मोदी हाइड्रोपावरले ३० लाख ७७ हजार कित्ता शेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएको छ। कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ।

त्यसैगरी, सिद्धि हाइड्रोपावरले ५० लाख कित्ता शेयर निष्कासनको अनुमति मागेको छ। कम्पनीको बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल रहेको छ।

सिद्धि हाइड्रोपावरले इलाममा १० मेगावाट क्षमताको सिद्धिखोला जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ। उक्त आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको विवरणमा उल्लेख छ।

दुवै कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ निष्कासन गर्ने प्रस्ताव गरेका छन्।

नेपाल धितोपत्र बोर्डबाट निष्कासन अनुमति प्राप्त भएपछि कम्पनीहरूले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि र त्यसपछि सर्वसाधारणका लागि शेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाउनेछन्।