नागरिकता नबन्दा ज्येष्ठ नागरिक समस्यामा

1.07K
shares

रामपुर (पाल्पा), १७ वैशाख । “जवानीमा त मेलापात गरेरै जीवन धानियो, बूढेसकालमा काम गर्न सक्ने तागत छैन, कसरी बाँच्ने हो ?” यस्तो गुनासो पोख्नुहुन्छ ७८ वर्षीया तुलसा पाण्डेय । बुढ्यौली उमेरमा उनलोई आफन्तको स्याहारसुसार, रेखदेख त परै जाओस् बिहान साँझको छाक जोहो गरिदिने कोही छैन ।

 

रामपुर नगरपालिका–८ बस्ने पाण्डेयलाई न दिनको भोक न रातको निद्राजस्तै भएको छ । बिहान साँझको छाक कसरी टार्ने भन्ने चिन्ताले उनलोई पिरोलेको छ । आफन्तको साहाराविहीन पाण्डेयलाई दैनिक गुजारा चलाउन सकस छ । नेपाली नागरिकता नबन्दा सामाजिक सुरक्षा कार्यक्रमबाट वञ्चित हुनुपरेको उनी बताउछन् ।

 

नागरिकता बनाउन उनले यहाँका जनप्रतिनिधि, राजनीतिक दल, गाउँवासी सबैलाई पटकपटक आग्रह गरिहनुभएको छ तर अहिलेसम्म नागरिकता पाउन सक्नुभएको छैन । नागरिकतामा परिवारको तर्फबाट प्रमाणित गर्ने व्यक्ति नहँुदा नेपाली नागरिकता पाउनबाट उनी वञ्चित हुनुपरेको छ ।

 

“नेपाली नागरिकता पाएमा सरकारले दिएको ज्येष्ठ नागरिक भत्ता त पाउँथे, त्यसबाट गुजारा चलाउँथे, सबैसँग बिन्ति गरे अहिलेसम्म नागरिकता बन्न सकेको छैन, हामीजस्ता बूढाबूढीलाई सरकारले दिएको सुविधा उपभोग गर्ने व्यवस्था मिलाइदिनुप¥यो”, उनले गुनासो गरे ।

 

सोही ठाउँकै ७१ वर्षीया फनिसरा ढुङ्गानाको पनि समस्या उस्तै छ । उनी पनि नागरिकता पाउने आशामा बसिरहनुभएको छ तर अहिलेसम्म बन्न सकेको छैन । परिवारको अवस्था नाजुक हुँदा हाल बहिनी बुद्धिमाया भुसालसँग बसोबास गर्दै आउनुभएको छ । नागरिकता आफूसँग नहँुदा ज्येष्ठ नागरिकका लागि सरकारले दिएको सुविधाबाट वञ्चित हुनुपरेको फनिसरा बताउछन् ।

 

रामपुर नगरपालिका–२ तिलिङ्डाँडा बस्ने जितमाया थापा नेपाली नागरिक भएर पनि आफू नेपाली हुँ भन्ने प्रमाण साथमा नभएको बताउछन् । श्रीमान्ले अर्की श्रीमती ल्याएपछि उनी घरबाट निकाला भए । श्रीमान्ले नागरिकता नबनाइदिएको हुँदा जति सक्दो चाँडो नागरिकता दिलाइदिन सबैसँग अनुरोध गर्छन ।

 

उनी भन्छन्, “श्रीमान्ले अर्की बिहे गरेपछि मलाई घरबाट निकालिदिए, बहिनीको घरमा बसिरहेको छु, नागरिकता मात्रै बनेमा सरकारले दिने भत्ता पाइन्थ्यो, त्यसैबाट थोरै भए पनि जीविका चलाइन्थ्यो ।” परिवारको तर्फबाट प्रमाणित गर्ने सदस्य कोही नभएको र नागरिकता बनाउने प्रक्रियामा नीति नियम, कानुनले गर्दा अप्ठ्यारो परेको रामपुर नगरपालिकाका कार्यवाहक प्रमुख विष्णुदेवी घिमिरे आचार्य बताउछन् ।

 

“हामीले उनीहरुको अवस्थाका बारेमा छर्लङ्ग बुझेका छौँ, नागरिकता बनाई दिन प्रमुख जिल्ला अधिकारीसमक्ष पनि कुरा पुगेकै छ, तर कानुन र नीति नियमलाई पनि अनुशरण गर्नैप¥यो, हामीले चाहेर मात्रै भएन, प्रक्रिया नपुग्दा अप्ठ्यारो भइरहेको छ”, उनले भने । जितमाया थापालाई हालै नगरपालिकाले खाद्यान्न व्यवस्थापन, बालबालिकाको शिक्षा सहजता, कानुनी सहायताका लागि रु ११ हजार रकम, तुलसा पाण्डेय र फनिसरा ढुङ्गानालाई खाद्यान्न व्यवस्थापन तथा औषधि उपचारार्थ रु सात÷सात हजार लैङ्गिक हिंसा निवारण कोषअन्तर्गत रकम सहयोग गरिएको महिला बालबालिका तथा सामाजिक विकास शाखाका महिला सहायक विकास निरिक्षक पूजा परियारले बताऐ ।

 

वडाले उपलब्ध गराएको सिफारिसको आधारमा समस्यामा परेका अति विपन्न, साहाराविहीन नागरिकलाई नगरपालिकाले सहयोग गरेको छ । सानो भए पनि सहयोग रकम पाउँदा उनीहरू उत्साहित छन् । नगरपालिकाले समस्यामा परेका नागरिकलाई यसभन्दा अगाडि पनि आर्थिक रकम सहयोग गरेको छ ।

 

आर्थिकरुपले विपन्न, अशक्त, असहाय अवस्थामा रहेका, असहाय एकल महिला, अपाङ्गता भएका, बालबालिका, आफ्नो हेरचाह आफैँले गर्न नसक्ने तथा लोपोन्मुख जातिका नागरिकले सामाजिक सुरक्षाको अधिकार सुनिश्चित गर्न नेपाल सरकारले सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरिरहेको छ ।