गौतमश्री सहकारीलाई समस्याग्रस्त सहकारी घोषणा गर्न सहकारी विभागको सिफारिस
वि.सं.२०७९ साउन १९ बिहीवार १६:३४
shares

काठमाडौं, १९ साउन । सहकारी विभागले गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त सहकारी संस्थाका रूपमा घोषणा गर्न सिफारिस गरेको छ ।
विभागले बिहिवार प्रेस विज्ञप्ति जारी गर्दै सहकारी ऐन, २०७४ को दफा १०४ ९१० बमोजिम गौतमश्री सहकारीलाई समस्याग्रस्त संस्थाका रूपमा घोषणा गर्न मन्त्रालयमा सिफारिस गरेको जनाएको हो ।
सदस्यहरूको हित विपरीतका कार्य गरेको, निर्धारित शर्तबमोजिम बचत फिर्ता नगरेको, सहकारी मूल्य, मान्यता एवं सहकारी ऐन, नियम र निर्देशन पालना नगरेको भन्दै विभागले उक्त सहकारी संस्थालाई समस्याग्रस्त संस्था घोषणा गर्न सिफारिस गरेको विज्ञप्तिमा उल्लेख छ ।
सहकारी ऐन अनुसार मन्त्रालयले समस्याग्रस्त घोषणा गरेपछि संस्थाको सम्पत्ति तथा दायित्व छानबिन गरी बचतकर्ताको रकम फिर्ता गर्ने अधिकार समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई रहेको छ ।
विभागका अनुसार गत मंगलवारसम्म उक्त सहकारी संस्थाका ११ सयभन्दा बढी बचतकर्ताहरूले १ अर्ब ७५ करोडको मागदाबीसहित विभागमा उजुरी निवेदनहरू दिएका छन् । उजुरी निवेदनहरू दर्ता हुने क्रम जारी रहेको विभागले जनाएको छ ।
काठमाडौं, कुलेश्वरस्थित उक्त सहकारी संस्थाका सञ्चालक र कर्मचारीहरू भने सम्पर्कविहीन छन् ।
उक्त सहकारी संस्थाका सञ्चालक र कर्मचारीहरूलाई विभागमा उपस्थित गराउन जिल्ला प्रशासन कार्यालय, काठमाडौंलाई पत्राचार गरे पनि अहिलेसम्म कोही सम्पर्कमा नआएको विभागले जनाएको छ ।














