साउन महिनामा आयतमा १३ प्रतिशतले कमी, वैदेशिक व्यापार घाटा १० प्रतिशतले घट्यो
वि.सं.२०७९ भदौ ९ बिहीवार ०९:३९
shares

काठमाडौं, ९ भदौ । चालू आर्थिक वर्षको पहिलो महिनामा वैदेशिक व्यापार १० प्रतिशतले घटेको छ । भन्सार विभाको तथ्यांकअनुसार गत आर्थिक वर्षको साउन महिनाको तुलनामा चालू आर्थिक वर्षको तुलनामा १० प्रतिशतले व्यापार घाटा घटेको हो ।
आयतामा गरिएको कडाइका कारण वैदेशिक व्यापार घाटा घटेको अनुमान गरिएको छ । सरकारले विदेशी मुद्राको सञ्चितिमा परेको प्रभावलाई ध्यान राखेर आयातमा कडाइ गरेको हो । साउन महिनामा गत वर्षको तुलनामा १३ प्रतिशतले आयात घटेको विभागको तथ्यांकले देखाएको छ । विभागको तथ्यांकअनुसार २०७९ साउनमा १ खर्ब ३१ अर्ब २८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । गत वर्षको साउनमा यस्तो वस्तु आयात १ खर्ब ५० अर्ब ७३ करोड रुपैयाँ बराबर थियो ।
साउनमा निर्यात पनि घटेको विभागको तथ्यांकले देखाएकको छ । तथ्यांक अनुसार साउन महिनामा २८.६८ प्रतिशतले निर्यात घटेको छ । २०७८ साउनमा २० अर्ब ७६ करोड ५१ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो भने २०७९ साउनमा १४ अर्ब ८० करोड ९७ लाख रुपैयाँको मात्र वस्तु निर्यात भएको देखिएको छ ।
२०७९ साउनमा १ खर्ब १६ अर्ब ४७ करोड रुपैयाँ बराबर व्यापारघाटा छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा १ खर्ब २९ अर्ब ९६ करोड थियो ।















