Dhulikhel Eco Banner new

रक्सी, गाडि, मोबाइल र मोटरसाइकल माथिको आयात प्रतिबन्ध कायमै

4.45K
shares

काठमाडौं, १४ भदौ । सरकारले वस्तु आयात माथि गरेको कडाइलाई केही खुकुलो बनाएको छ । पछिल्लो समय सरकारले लगाएको प्रतिबन्धको समय आज सकिए पछि चार बस्तु बाहेक अन्यको आयात खुल्ला भएको हो ।

सरकारले रक्सी, मोटरसाइकल, मोबाइल र गाडिको आयातमा गरेको कडाइलाई निरन्तर्ता दिएको हो । यी बाहेक अन्य बस्तु माथिको प्रतिबन्ध आजबाट फुकुवा भएको छ । विदेशी मुद्रा सञ्चिति घटेको भन्दै सरकारले वैशाख १३ गतेदेखि विभिन्न १० बस्तुको आयातमा कडाइ गरेको गरेको थियो ।

उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा सरकारले कुर्कुरे, कुर्मुरे, लेज र यस्तै उत्पादन, चुरोट तथा सुर्तीजन्य वस्तु, हिरा, रंगिन टेलिभिजन (३२ इन्चभन्दा माथि), सबै प्रकारका खेलौना र तासको आयातमा लाग्दै आएको प्रतिबन्ध हटाएको हो ।

विदेशी मुद्राको सञ्चिति घट्न थालेपछि सरकारले चार दर्जन बस्तुको आयातलाई निरुत्साहित गर्दै आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार कुल विदेशी विनिमय सञ्चिति ९ अर्ब ५४ करोड अमेरिकी डलर रहेको छ । उक्त सञ्चितिले ६.९४ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्छ ।