‘जनतासँग कांग्रेस अभियान’ पालिकास्तरमा
वि.सं.२०७९ भदौ १६ बिहीवार १०:१४
shares

काठमाडौं, १६ भदौं । नेपाली कांग्रेस तनहुँले चुनाव लक्षित ‘जनतासँग काङ्ग्रेस अभियान’लाई पालिकास्तरमा सञ्चालन गरेको छ । जिल्लास्तरमा कार्यक्रम गरी शुभारम्भ गरिएको उक्त अभियानलाई जिल्लाका दशवटै पालिकामा सञ्चालन गरिएको हो ।
चार नगरपालिका र छ गाउँपालिकामा एकैसाथ कार्यक्रम गरी पालिकास्तरमा अभियानको शुभारम्भ गरिएको छ । पालिकास्तरमा सकिएपछि अब भदौ १८ गते एकैपटक ८५ वटै वडामा यो अभियान सञ्चालन हुने नेपाली काङ्ग्रेस तनहुँले जनाएको छ । नेपाली कांग्रेस व्यास नगरसमितिले आयोजना गरेको शुभारम्भ कार्यक्रममा केन्द्रीय सदस्य शङ्कर भण्डारीले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा अग्रज नेतादेखि सबैको व्यवस्थापन हुनुपर्ने बताए । चुनावमा पाँच दलबीच गठबन्धन हुने भएकाले पार्टी र गठबन्धनलाई विजयी गराउन इमानदार भएर लाग्नुपर्नेमा भण्डारीले जोड दिए ।
भण्डारीले निर्वाचनमा पार्टीले जुन क्षेत्रबाट टिकट दिन्छ सोही क्षेत्रबाट चुनाव लड्न तयार हुनुपर्ने बताए। पार्टीले आवश्यकता अनुसार निर्वाचनमा टिकट दिने र जुनसुकै क्षेत्रबाट पनि निर्वाचन लड्न तयार भएर मानसिकता बनाउनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोवाटे विश्वकर्मा, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, पार्टीका पूर्व जिल्ला सभापति रघुनाथ पौडेल, जनतासँग कांग्रेस अभियानका व्यास नगरका संयोजक प्रा डा कृष्णप्रसाद गौतमलगायतले ‘जनतासँग काङ्ग्रेस अभियान’ मार्फत जनतालाई कांग्रेसमा आकर्षित गर्नुपर्ने बताए ।

















