सामसङ ग्यालेक्सी एस२६एफई नेपालमा सार्वजनिक
वि.सं.२०८३ असोज ५ सोमवार १३:३९
shares

काठमाडौं, ५ असोज । सामसङ नेपालले ग्यालेक्सी एस२६ सिरिजअन्तर्गत नयाँ स्मार्टफोन ग्यालेक्सी ‘एस२६एफई’ सार्वजनिक गरेको छ। वान युआई ९ प्रणालीसहित बजारमा आएको यो पहिलो स्मार्टफोन भएको कम्पनीको दाबी छ।
उच्च क्यामरा प्रविधि र नयाँ ग्यालेक्सी एआई सुविधाहरू रहेको यो फोनले दैनिक फोटो खिच्ने, दृश्य बनाउने र सञ्चार गर्ने अनुभवलाई अझ उत्कृष्ट बनाउनेछ। पातलो र हल्का डिजाइनमा तयार पारिएको यस फोनले ‘एस’ सिरिजको प्रिमियम अनुभवलाई कायम राखेको छ।
ग्यालेक्सी एस२६एफई दैनिक जीवनमा हरेक सुविधाले अर्थपूर्ण फरक पारोस् भन्ने कुरालाई ध्यानमा राखेर तयार पारिएको सामसङ नेपालका सिनियर डाइरेक्टर तथा हेड अफ एमएक्स प्रणय रत्न स्थापितले बताए।
यो फोनले ग्यालेक्सी एस सिरिजका विशेष सुविधाहरूलाई अझ धेरै ग्राहकसम्म पुर्याउने उनको भनाइ छ। यस स्मार्टफोनमा सुधारिएको ट्रिपल रियर क्यामरा र उन्नत इमेज प्रोसेसिङ क्षमता रहेको छ।
यसमा नयाँ फोल्डेबल फोनहरूमा प्रयोग गरिएको माई फ्यान क्याम सुविधा दिइएको छ, जसले चुनिएको व्यक्तिलाई ट्र्याक गर्दै भिडिओको फ्रेम मिलाउँछ। भिडिओ खिच्दा होरीजोन्टल लकसहितको सुपर स्टेडे प्रविधिले द्रुत गतिविधिलाई स्थिर बनाउँछ। ३ गुणा अप्टिकल जुम र नाइटोग्राफी सुविधाका कारण टाढाका तथा अँध्यारोमा खिचिएका फोटोहरू पनि स्पष्ट र विस्तृत आउँछन्।
ग्यालेक्सी एस२५ सिरिजमा प्रयोग गरिएको नाउ ब्रिफ सुविधालाई यसमा थप व्यक्तिगत बनाइएको छ, जहाँ मौसम र स्वास्थ्यसम्बन्धी कार्डहरू आफू अनुकूल रोज्न वा बनाउन सकिन्छ। नेपाली बजारमा ८ जिबी र्याम तथा २५६ जिबी स्टोरेज क्षमताको यो फोनको मूल्य १ लाख १९ हजार ९९९ रूपैयाँ तोकिएको छ।
यो फोन पिस्ताचिओ, ग्राफाइट र ब्लुबेरी रंगमा उपलब्ध छ। सामसङले खरिदकर्ताका लागि ८ हजार रूपैयाँसम्मको एक्सचेन्ज बोनस र १८ हजार ३५१ रूपैयाँ मूल्यको ६ महिनाका लागि गुगल एआई प्रो सबस्क्रिप्सन निःशुल्क उपलब्ध गराएको छ।
साथै, ग्राहकले मासिक ३ हजार २५६ रूपैयाँको २४ महिना वा मासिक ६ हजार रूपैयाँको १२ महिने शून्य प्रतिशत किस्ताबन्दी ९इएमआई० सुविधासमेत पाउने कम्पनीको भनाइ छ।

















