Dhulikhel Eco Banner new

बिजुलीमा भ्याट हटाउने सहमति

455
shares

काठमाडौं, ५ असोज । सरकारले बिजुलीमा भ्याट हटाउने भएको छ। भ्याट हटाउनका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र अर्थमन्त्री स्वर्णिम वाग्लेबीच सहमति जुटेको ऊर्जा मन्त्रालयले जनाएको छ।

ऊर्जा मन्त्रालयका एक अधिकारीका अनुसार आइतबार ऊर्जामन्त्री श्रेष्ठले अर्थमन्त्री वाग्लेसँग भ्याट हटाउन प्रस्ताव गरेका थिए।  ‘हामीले ऊर्जा खपत रणनीति २०८३ लागू गरेका छौं। खपत बढाउनका लागि त मूल्य धेरै हुनु भएन। त्यो हिसाबले ऊर्जामन्त्रीज्यूले अर्थमन्त्रीज्यूसँग भ्याट हटाउन प्रस्ताव गर्नुभयो। प्रस्तावमा अर्थमन्त्रीज्यू सकारात्मक हुनु भएको छ,’ ती अधिकारीले भने।

अब अर्थमन्त्री वाग्लेले भ्याट हटाउने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने सहमति भएको उनले बताए। ‘भ्याटले उपभोक्तालाई थप वित्तीय भार पर्‍यो। जतिसक्दो छिटो हटाउनुपर्छ भनेर अब उहाँले मन्त्रिपरिषदमा लैजाने हुनु भएको छ,’ उनले भने।

मन्त्रिपरिषद बैठकबाट निर्णय भएपछि भ्याट हट्नेछ।  सरकारले चालु आर्थिक वर्षदेखि विद्युत् भ्याट लगाउन थालेको छ।  घरायसी ग्राहकका लागि ५ प्रतिशत र औद्योगिक तथा अन्य गैरघरायसी ग्राहकका लागि १३ प्रतिशत भ्याट लगाउने व्यवस्था वाग्लेले नै गरेका हुन्। यो व्यवस्थाको चौतर्फी आलोचना भएसँगै सरकारले हटाउने तयारी गरेको हो।  विद्युतमा भ्याट हटाउन प्रधानमन्त्रीसमेत सकारात्मक देखिएको ऊर्जा मन्त्रालयका ती अधिकारीको भनाइ छ।