Dhulikhel Eco Banner new

साउन महिनामा वस्तु निर्यातमा करिब २९ प्रतिशतले घट्यो

5.85K
shares

काठमाडौं, २७ भदौ । चालू आर्थिक वर्षको पहिलो महिना साउनमा नेपालबाट निर्यात करिब २९ प्रतिशतले गिरावट आएको छ । भन्सार विभागको तथ्यांक अनुसार गत वर्षको साउन महिनाको तुलनामा चालू आर्थिक वर्षको साउन महिनामा २८.६८ प्रतिशतले निर्यात घटेको हो ।

गत वर्षको साउन महिनामा २० अर्ब ७६ करोड ५१ लाख बढीको बस्तु निर्यात गरेको नेपाले चालू आर्थिक वर्षको साउन महिनामा १४ अर्ब ८० करोड ९७ लाख रुपैयाँभन्दा बढीको बस्तु निर्यात गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ५ अर्ब ५५ करोड ४१ लाख बढीले कम हो ।

विभागको तथ्यांक अनुसार साउन महिनामा अधिकांश वस्तुको निर्यात घटेको देखिएको छ । गत वर्षकोभन्दा चालू आर्थिक वर्षको पहिलो महिनामा भटमासको तेल निर्यात करिब शतप्रतिशतले घटेको देखिन्छ । भटमासको तेलको निर्यात ८२.२४ प्रतिशतले घटेको छ । गत वर्ष ८ अर्ब ९८ करोड ६४ लाखभन्दा बढीको भटमास निर्यात गरेको नेपालले चालू आर्थिक वर्षको साउन महिनामा १ अर्ब ५९ करोड ६२ लाख रुपैयाँको भटमासको तेल निर्यात गरेको छ ।

साउन महिनामा निकासी भएका ३२ वटा वस्तुमध्ये १५ वटा वस्तुको निर्यात उच्च मात्रामा घटेको छ । साउन महिनामा गत वर्षको सोही अवधिको तुलनामा भटमासको तेल बाहेक धागो, जुट तथा जुटको वस्तु, जुस, अलैंची, फ्याब्रिक, कुकुर तथा बिरालोको दाना, सन्फ्लावर तेल, फुटवेयर, एसेनसियल आयल, सुनको गहना, चाँदीका गहना, कटनको झोला, टुथपेस्ट र लेन्टिल्सको निर्यात घटेको छ ।

गत साउन महिनामा १ अर्ब १० करोड ११ लाखको धागो निर्यात गरेको नेपालले चालू आर्थिक वर्षको साउन महिनामा भने ८८ करोड ५२ लाखको मात्रै धागो निर्यात गरेको छ । त्यस्तै गत वर्ष ७९ करोड ७१ लाखको जुट तथा जुटका वस्तु निर्यात गरेको नेपालले चालू आर्थिक वर्षको पहिलो महिनामा ६५ करोड ८७ लाखको निर्यात गरेको तथ्यांकले देखाएको छ ।

साउन महिनामा ३१ करोड ८५ लाख रुपैयाँको जुस निर्यात गरेको छ । गत आर्थिक वर्षको सोही महिनामा नेपालले ४५ करोड ९१ लाखको जुस निर्यात गरेको थियो । गत वर्ष ३५ करोड बढीको अलैँची निर्यात गरेको नेपालले चालू आर्थिक वर्षमा ३३ करोड ७८ लाखको अलैँची निकासी गरेको छ ।

फ्याब्रिक निकासी गत वर्ष ३१ करोड ६ लाखको निकासी गरेको नेपालले चालू आर्थिक वर्षको साउनमा १९ करोड २३ लाखको फ्याब्रिक निर्यात गरेको छ । कुकुर र विरालोको दाना १८ करोड ६८ लाखको निर्यात गरेको सरकारले चालू आर्थिक वर्षमा १६ करोड ८२ लाखको दाना निर्यात गरेको छ । साउन महिनामा नेपालबाट सुनका गरगहना ४ करोड ४५ लाखको निर्यात भएको छ । यो संख्या गत वर्ष १० करोड २८ लाख रहेको थियो । त्यस्तै चाँदीका गहना निर्यातमा पनि कमी आएको छ । गत वर्ष ५ करोड ९४ लाखको चाँदीका गहना निर्यात भएको थियो । चालू आर्थिक वर्षको साउन महिनामा भने १ करोड २५ लाखको निर्यात भएको देखिएको छ ।

त्यसैगरी, साउन महिनामा पाम तेल, ऊनीको कार्पेट, आइरन तथा स्टिलजन्य सामग्री, रेडिमेड गार्मेन्ट र ऊनीको फेल्ट सामग्रीलगायत अन्य वस्तुको निर्यात बढेको छ । गत वर्षको साउन महिनामा २ अर्ब १५ करोड ५९ लाख रुपैयाँको पाम तेल निर्यात गरेको नेपालले चालू आर्थिक वर्षको साउन महिनामा ३ अर्ब ७४ करोड २७ लाख रुपैयाँको पाम तेल निर्यात भएको विभागको तथ्यांकले देखाएको छ ।

त्यस्तै उनीको कार्पेट ९२ करोड २१ लाखको निर्यात भएको छ । गत वर्ष भने उनीको कार्पेट ८० करोड १२ लाखको निर्यात भएको थियो । त्यस्तै साउन महिनामा ४१ करोड २४ लाखको चिया निर्यात भएको छ । गत वर्ष भने चियाको निर्यात ३३ करोड ७ लाख रुपैयाँको भएको थियो । त्यस्तै चालू आर्थिक वर्षको साउन महिनामा नेपालबाट ७ करोड ५९ लाख रुपैयाँको अदुवा निर्यात भएको छ । गत वर्षको साउन महिनामा भने ६ करोड ८८ लाखको अदुवा निर्यात भएको थियो ।