Dhulikhel Eco Banner new

र्‍याप्टिङ व्यवसाय तहसनहस, विदेशी पर्यटक आउँनै छाडे

7.23K
shares

काठमाडौं, २६ असोज । नेपालमा फस्टाउँदै गएको र्‍याप्टिङ व्यवसाय पछिल्लो समय तहसनहस भन्दै गएको छ । नेपालमा माओवादी द्धन्द्ध सुरु हुनुभन्दा पहिले निकै रफ्तारमा अघि बढेको यो व्यवसाय पछिल्लो समय निकै खुम्चिदै गएको हो ।

विदेशीको मुख्य आकर्षण र आम्दानीको राम्रो स्रोत बन्दै गएको तथा विदेशी मुद्रा आर्जनको पनि स्रोत बन्न सक्ने सम्भावना बोकेको यो क्षेत्रका व्यवसायी अहिले पलायन हुन थालेका छन् भने भएकाहरु पनि घिटीघिटी रुपमा चलिरहेका छन् ।

माओवादीको १० वर्षे जनयुद्धको समयपछि यो व्यवसाय लयमा फर्किन नसकेको नेपाल एसोसिएसन अफ र्‍याप्टिङ एजेन्सी (नारा) का अध्यक्ष शिव अधिकारीले बताएका छन् । विभिन्न कारणले गर्दा जंगल भित्रका होलटहरु बन्द हुनु र प्रचार-प्रसार समेत नभएका कारण अहिले र्‍याप्टिङ व्यवसाय ठप्प जस्तै रहेको अध्यक्ष अधिकारीले बताएका हुन् ।

नेपालमा र्‍याप्टिङको सम्भावना निकै राम्रो भए पनि राज्यको ध्यान जान नसकेको उनको भनाइ छ । उनका अनुसार अहिले ५ प्रतिशत पनि विदेशीहरु र्‍याप्टिङका लागि नेपाल आउँदैनन् । २०–२२ वर्षको अवधिमा यो व्यवसायमा संलग्न रहेका ५० प्रतिशतले व्यवसाय नै छोडेको अधिकारीले बताए । १२० भन्दा बढी व्यवसायी रहेको नेपालमा अहिले घटेर ६० वटाको हाराहारीमा झरेको उनले जानकारी दिए ।

‘खोलाको किनारामा रिसोर्ट खोल्नेहरुले पैसा कमाएको भए पनि विदेशी मुद्रा जुन रुपमा आउनु पर्ने थियो त्यो हुन सकेको छैन्,’ उनले भने । यसका साथै हाइड्रोपावर निर्माण तथा नदी प्रदुषणका कारण पनि र्‍याप्टिङ व्यवसाय खुम्चिदै गएको उनले बताए ।

यसका साथै अहिले र्‍याप्टिङ गाइड समेत पाउन समस्या रहेको अध्यक्ष अधिकारीको भनाइ छ । ‘पुराना गाइडहरु विदेश पलाएन भइसके, नयाँ उत्पादन हुन सकेको छैन,’ उनले भने, ‘नेपालको कर्णाली नदी र्‍याप्टिङका हिसाबले विश्वकै उत्कृष्ट ५ गन्तव्यमा पर्छ, तर यसको प्रचार प्रसार हुन सकेनन् ।’ अहिले भोटेकोशी, त्रिशुली जस्ता नदीमा र्‍याप्टिङ गर्न विदेशीहरु आउनै छाडेको उनले बताए ।

स्वदेशी पर्यटकका कारण नदी किनारामा बनाएका रिसोर्टहरुले लाभ लिएको भए पनि समग्र व्यवसायमा यसले कुनै सहयोग गरेको छैन् । नेपालीले मात्रै र्‍याप्टिङ गरेर यो उद्योगलाई ठूलो सहयोग पुग्न नसक्ने उनको भनाइ छ । ‘केहीलाई लाभ भयो होला तर र्‍याप्टिङको लागि आवश्यक पर्ने सामग्री सबै विदेशबाट ल्याउनु पर्छ, अनि नेपालमा विदेशबाट पर्यटक नआउँदा नेपालबाट रकम बाहिरिने काम मात्रै भयो कमाउने कामै भएन्,’ उनले भने ।

विशेष गरी अक्टोबर– डिसेम्बरलाई मुख्य सिजन मानिए पनि जुनसुकै समयमा पनि ¥याप्टिङ गर्न सकिन्छ । नेपालका नदीहरु पनि त्यसका लागि उपयुक्त रहेका छन् । विदेशीहरुलाई यस विषयमा जानकारी गराउन जरुरी रहेको छ । नेपालले पछिल्लो समय र्‍याप्टिङको मार्केटिङ गर्न नसकेको र आउने पर्यटकलाई गाइडको समेत समस्या रहेको अध्यक्ष अधिकारीको भनाइ छ ।

अहिले करिब ५०० जना र्‍याप्टिङ गाइडहरु जापानमा काम गरिहरेको उनले जानकारी दिए । निकै फस्टाउँदै गएको व्यवसाय अहिले निकै कमजोर हुँदै जाँदा समग्र अर्थतन्त्रमा नै नकारात्मक असर गरेको छ । सरगमाथा र लुम्बिनी जस्तै र्‍याप्टिङ व्यवसायले पनि विदेशी पर्यटक आवागमनलाई बढावा दिन्छ । यस तर्फ राज्यको ध्यान जान जरुरी रहेको अध्यक्ष अधिकारीको भनाइ छ ।