Dhulikhel Eco Banner new

घर–घरमै परिचयपत्र

4.73K
shares

काठमाडौं, १ कात्तिक । तनहुँको म्याग्दे गाउँपालिका–७ स्वामीधाराका सोमबहादुर सार्की शारीरिकरूपमा अपाङ्गता छन । चार वर्ष अगाडि काम गर्दागर्दै अचानक ढल्नुभएका उनि त्यसपछि आफ्नै सहारामा उठ्न सकेका छैनन । उठ्नप¥यो भने उनलाई परिवारको सहारा चाहिन्छ ।

उनको दैनिक ह्वीलचियरबाट चलिरहेको छ । घरको मूली नै शारीरिक अपाङ्गता भएपछि परिवार चिन्तित छन् । उनले हालसम्म अपाङ्गता परिचयपत्र पाएका थिएन । परिचयपत्र बनाउन गाउँपालिकाको कार्यालयसम्म जान असमर्थ उनलाई गाउँपालिकाले घरमै ल्याएर परिचयपत्र प्रदान गर्दा उनको मुहारमा खुसी छाएको छ । गाउँपालिकाले आयोजना गरेको एकीकृत घुम्ती शिविरको अवसरमा वडाध्यक्ष वसन्तकुमार श्रेष्ठले घरमै पुगेर सार्कीलाई निलो रङको परिचयपत्र प्रदान गरेका छन ।

“अपाङ्ग भइसकेपछि अपाङ्गता परिचयपत्र बनाउनका लागि जान कोसिस गरेता पनि पालिकाको कार्यालय धेरै टाढा पर्छ, जान आउन पनि समस्या हुँदै आएको थियो”, उनले भने, “गाउँपालिकाले घरमै ल्याएर दिँदा राहतको महसुस भयो ।” अपाङ्गता परिचयपत्र प्राप्त गरेपछि सरकारी तवरबाट प्राप्त हुने सुविधा पाउनेमा सार्की विश्वस्त छन् । म्याग्दे–७ स्वामीभञ्ज्याङका ६३ वर्षीया देउमाया भुजेलले घर नजिकैबाट ज्येष्ठ नागरिक परिचयपत्र पाए । ज्येष्ठ नागरिक परिचयपत्र बनाउन एक घण्टाभन्दा बढीको पैदल र सवारीयात्रा गरी गाउँपालिको कार्यालयसम्म पुग्नुपर्ने बाध्यता रहेको उनले घरदैलोमै परिचयपत्र पाउँदा खुसी लागेको बताए ।

“ज्येष्ठ नागरिक परिचयपत्र बनाउन गाउँपालिकाको कार्यालयसम्म पुग्नुपर्दा समस्या हुँदै आएको थियो”, उनले भने, “गाउँपालिकाले घरदैलोमै ल्याएर परिचयपत्र दिँदा सहज भयो ।” सोही ठाउँका ज्येष्ठ नागरिक रामबहादुर थापा जनप्रतिनिधि तथा कर्मचारीले घरदैलोमा नै ल्याएर परिचयपत्र दिएकामा हर्षित छन ।