Dhulikhel Eco Banner new

धान खेतमा बजार विस्तार

4.32K
shares

काठमाडौं, १ कात्तिक । “अहिले घर बनेका सबै ठाउँमा धानखेत थियो, यस्ता ठूला घर बनेकै थिएनन्, मोटर गाडी केही पनि आउँदैनथ्यो, व्यापारीले घोडा खच्चडमा सामान बोकेर ल्याएर बेच्ने गर्थे, अहिले त्यस्तो सुनसान ठाउँ बजार भयो, धान फल्ने खेतभरी घर बने”, निसीखोला गाउँपालिका–४ झिवाखोलाका का ७० बर्षिय भीमलाल रेग्मीले १२ वर्ष अगाडिको स्मरण गरे ।

झिवाखोला बजार एक दशक अगाडिसम्म रेग्मीले भने जस्तै सुनासन थियो । स–साना काठ, माटो र ढुङ्गाले बनेका घर थिए । व्यापारीले त्यही साना घर टहरामा दोकान राखेर सामान बिक्री गर्दै आएका थिए । झिवाखोला बजार भर्खर भर्खर मध्यपहाडी लोकमार्गले जोडिए पनि यातायातका साधान भने चलेका थिएनन् । निसीखोलाको तटीय क्षेत्रमा मात्रै घर थिए । माथिल्लो भाग सबै धान खेत थियो । तर, अहिले धान खेतमा ठूला–ठूला पक्की घरले भरिएका छन् ।

रेग्मीले झिवाखोलाले छोटो समयमा मुहार फेरेको बताए । “यो ठाउँमा यति धेरै विकास होला भन्ने मैले कल्पना पनि गरेको थिइन, हामी गाउँले परिवेशमा जन्मे, हुर्केको मान्छे अहिले यस्तो विकास देख्दा खुसी लाग्छ”, उनि भन्छन, “पहिले एउटा गतिलो पसल नभएको ठाउँमा अहिले जे भन्यो त्यही सामान पाइने ठाउँ बन्यो, गाउँलेलाई पनि सुविस्ता भयो ।

”उनले लोकमार्गले झिवाखोला बजार नजोडिँदा यहाँ खेतको मूल्य निकै कम पर्ने गरेको सुनाउँदै अहिले मूल्य आकासिएर छोइसक्नु नभएको बताउछन । रेग्मीले सडकले जोडिएपछि गाउँमा उत्पादन भएका वस्तुलेसमेत बजार पाउन थालेको बताए । मध्यपहाडी लोकमार्गसँगै अहिले गाउँ–गाउँमासमेत मोटरबाटो पुगेको भन्दै सडकले हरेक काममा टेवा पु¥याएको उनको भनाइ छ ।

“अहिले यस्तो बजार बन्दो रहेछ । उतिबेला ५०÷६० हजारमा बेचियो, उतिबेला नबेचेको भए अहिले करोडौँ पर्दोरहेछ”, रेग्मीले भने, “जे होस सडक आएपछि हामीलाई धेरै फाइदा पु¥याएको छ, गाउँमा फलफूल उत्पादन भएपछि यहाँ ल्याएर बेच्न सजिलो भएको छ, पहिले त गाउँमै खानेसक्ने हुन्थ्यो, अहिले दुई÷चार पैसा भए पनि आम्दानी भयो ।”निसीखोला गाउँपालिकाकै सबैभन्दा ठूलो व्यापारिक केन्द्रका रुपमा रहेको यस बजारमा अहिले तीव्र गतिमा भवन बनिरहेका छन् ।

पछिल्लो समय दैनिक किनमेल गर्नेकोसमेत चाप बढ्दै गएको स्थानीय व्यापारी विष्णु पौडेलले बताउछन । पछिल्लो समय बाहिरी जिल्लाबाट बसाइँसराइ गरेर आउनेको सङ्ख्या पनि बढेको पौडेल बताउछन ।