किन रोकियो दिल्ली उड्ने तयारीमा रहेको नेपाल वायुसेवा निगमको विमान ?
वि.सं.२०७९ कात्तिक १३ आइतवार १५:४१
shares

काठमाडौं, १३ कात्तिक । त्रिभुवन विमानस्थलले भारत उडन लागेको नेपाल वायुसेवा निगमको विमानलाई रोकिदिएको छ । २५४ जना यात्रु लिएर भारतको राजधानी नयाँ दिल्लीका लागि उड्ने तयारीमा रहेको निगमको वाइडबडी आरए–१७ विमानको उडान रोकिदिएको हो ।
नागरिक उड्डयन प्राधिकरणले जाडो यामका लागि स्वीकृत गर्ने अन्तर्राष्ट्रिय उडानहरूको तालिका (अक्टोबर ३० देखि मार्च २७ सम्म) मा निगमको आइतबार र शुक्रबार दिउँसो पौने २ बजे दिल्लीका उडान हुने तालिका कटौति गरेकाले विमान रोकिएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।
ग्रीष्मयामको तालिका (मार्च २८ देखी अक्टोबर २९ सम्म) मा दिल्लीका लागि हप्तामा सातै दिन दिउँसो उडान उदै आएको छ । त्यस्तै आज देखि सुरु भएको विन्टर सिजनको सेड्युलमा आइतबार र शुक्रकारको उडान प्राधिकरणले नै कटौति गरेको जनाइएको छ । नेपाल वायुसेवा निगमले दिनमा दुई वटा र हप्तामा १४ वटा उडानको लागि अनुमति मागेकोमा १० वटा मात्रै स्वीकृत भएकार आएको र आजको उडान स्वीकृत नभएकाले रोकिएको त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता टंकनाथ सिटौलाले जानकारी दिए ।
वायु सेवा निगमले वैकल्पीक व्यवस्था गर्नु पर्ने भए पनि त्यसो नगरेको उनले बताए । अनुमति नलिई यात्रु बोर्डिङ गरेकाले निगमको उडान रोक्नुपरेको सिटौलाको भनाइ छ । उडान अनुमति नै नलिएर किन टिकट बिक्री गरिएको यो त निगमको कमजोरी भएको उनले बताए । यस विषयमा जानकारी लिन सम्पर्क गर्दा निगमका प्रबक्ता अर्चना खड्काको फोन उठेन ।



















