उम्मेदवार गाउँ–गाउँमा निर्वाचन प्रचारप्रसारमा व्यस्त
वि.सं.२०७९ कात्तिक २१ सोमवार १६:३१
shares

काठमाडौं, २१ कात्तिक । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिएसँगै राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गाउँ–गाउँमा निर्वाचन प्रचारप्रसारमा व्यस्त छन् । प्रचारप्रसारमा हिँडेका उम्मेदवारले घरदैलोमा पुगेर मतदाताका कुरा सुन्दै आफ्ना कुराहरु उनीहरुलाई सुनाउँदै निर्वाचनमा आफू र आफ्नो पार्टीलाई मतदानका लागि आग्रह गर्ने गरेका छन् ।
तीन प्रतिनिधिसभा र ६ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दाङमा राजनीतिक दल र स्वतन्त्र गरेर ८९ उम्मेदवार चुनावी मैदानमा छन् । निर्वाचन आउन केही दिन मात्रै बाँकी रहँदा अधिकांश उम्मेदवार घोषणापत्रसँगै आफ्ना एजेण्डा लिएर मतदाताको घरदैलोमा पुगिरहेका छन् ।
प्रचारप्रसारका क्रममा गाउँगाउँ पुगेका उम्मेदवारले मतदातालाई रिझाउन काम गरेको ठाउँमा पुगेर धान काट्ने, खेत जोत्नेदेखि खन्ने समेतका काम गर्ने गरेका छन् । निर्वाचन प्रचारप्रसारसँगै राजनीतिक दलले मतदान गर्ने तरिका र चुनाव चिन्हको विषयमा मतदातालाई सिकाउने काम गरिरहेको नेपाली कांग्रेस दाङका सचिव क्षेत्र नं। २ का सचिव रमेश केसीले जानकारी दिए ।
क्षेत्रीय सचिव केसीका अनुसार गठबन्धनले चुनावी प्रसारप्रसारका क्रममा भेटघाट, घरदैलोसँगै मत बदर हुन नदिन मतदान गर्ने तरिका बारेमा सिकाउने गरिरहेका छन । “निर्वाचनका लागि घरदैलोसँगै मतदाता भेटघाटका कार्यक्रमहरु सवै निर्वाचन क्षेत्रहरुमा भैरहेका छन”, सचिव केसीले भने, “स्थानीय तह निर्वाचनमा गठबन्धनको धेरै मत बदर भएकाले यसपटक बदर मत घटाउनका लागि मतदातालाई सिकाउने काम भैरहेको छ ।”















