एउटै गाउँमा फल्यो तीन करोडको सुन्तला
वि.सं.२०७९ पुस १७ आइतवार १८:३१
shares

काठमाडौं, १७ पुस । बागलुङ नगरपालिका–८ स्थित सिगानामा यस वर्ष झण्डै रु तीन करोडको सुन्तला उत्पादन भएको छ । उत्पादन बढेपछि यतिबेला त्यहाँका किसानलाई सुन्तला बिक्री गर्न चटारो भएको छ ।
सिगानामा पुसको दोस्रो हप्तासम्मको विवरणअनुुसार ७५ प्रतिशत सुन्तला बिक्री भइसकेको छ । ‘सुन्तला जोन’का रूपमा जिल्लामा आफ्नो परिचय बनाउँदै आएको यहाँका किसानले यसवर्ष सुन्तला बिक्रीबाट रु साढे दुई करोड बराबरको सुन्तला बिक्री गरिसकेका छन् भने अझै रु ५० लाखको सुन्तला बिक्री हुन बाँकी छ ।
आठ रोपनी जग्गामा व्यावसायिक सुन्तलाखेती गरेका अगुवा किसान अनन्तबहादुर खड्काले यो वर्ष रु पाँच लाखमा आफ्नो सुन्तला बगान पोखराका व्यापारीलाई बिक्री गरेको बताए । उनले यस वर्ष सुन्तलाको उत्पादन बढे पनि मूल्य भने घट्न थालेको गुनासो गरे ।
“सिगानामा म जस्तै झण्डै ६०भन्दा बढी किसान रहेको अनुमान छ, तथ्याङ्क सङ्कलनमा अझै कमजोर छौँ, स्थानीय वडा कार्यालयलाई यसको कुनै जानकारी छैन, कुनै किसानले न्यूनतम रु २५ हजारदेखि अधिकतम रु पाँच लाखसम्म सुन्तलाको व्यापार गर्दैछन्”, किसान खड्काले भने, “यस वर्ष सुन्तलाको दाना निकै राम्रो छ तर धेरै स्थानमा उत्पादन बढेपछि सुन्तला व्यापारीले कम मूल्यमा सुन्तला खरिद गरेको पाइयो, हाम्रो अनुमानमा सिगानामा यस वर्ष रु तीन करोड मूल्य बराबरको सुन्तला उत्पादन भएको छ ।” उनका अनुसार पोखराका व्यापारीले यहाँ किसानका सुन्तला बोटबाटै टिपेर लैजाने गरेका छन् । बगैँचा विस्तार र मलजल राम्रो गरेपछि यस वर्ष किसानले सुन्तला बिक्रीबाट राम्रो आम्दानी गरेका हुन् ।
यस वर्ष सुन्तलाको राम्रो दाना फलेको भन्दै अगुवा किसान राम बहादुर खड्काले केहीले बोट नै ठेक्कामा दिएका र केहीले सुन्तला टिपेर बागलुङ बजार र पोखराको बजारमा पठाएको जानकारी दिए । उनले औँशे किराको प्रकोपले सुन्तलामा सामान्य क्षति गरे पनि सुन्तलाको उत्पादन गत वर्षको तुलनामा बढेको र दानासमेत राम्रो लागेको बताए ।
गत वर्ष यहाँका किसानले सुन्तला बिक्रीबाटै रु दुई करोड ५० लाख भित्र्याएकोे वडा कार्यालयको तथ्याङ्क छ । यस वर्ष पनि सुन्तला बिक्रीको तथ्याङ्क सङ्कलन गर्न थालिएको जानकारी गराउँदै वडाध्यक्ष राजु कार्कीले सुन्तला बिक्रीकै चरणमा रहेकाले तथ्याङ्क सङ्कलनमा ढिलाइ भएको बताए । उनले बिक्री लक्ष्यअनुसार रु तीन करोडको सुन्तला उत्पादन भएको बताए । पोखराका व्यापारीले बोटमै ठेक्कामा खरिद गरेर सुन्तला लैजाने गरेका छन् भने साना व्यापारीले डोकोमा सुन्तला खरिद गरेर बजार पु¥याउने गरेका छन् ।

















