सिबिफिनकोे तेस्रो साधारणसभा सम्पन्न, गोल्यानकाे अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन
वि.सं.२०७९ पुस २५ सोमवार १५:४५
shares

काठमाडौं २५ पुस । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को तेस्रो वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न भएको छ ।
उक्त साधारण सभाले एनएमबी बैंकका अध्यक्ष पवनकुमार गोल्यानको अध्यक्षतामा १५ सदस्यीय कार्यसमितिको सर्वसम्मत चयन गरेको छ ।
निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत तथा वरिष्ठ अधिवक्ता ईश्वरी प्रसाद भट्टराईले सर्वसम्मत चयन भएको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको घोषणा गरेका थिए ।
नवनिर्वाचित कार्यसमितिका अध्यक्ष पवनकुमार गोल्यानले सिबिफिनले स्थापनाको छोटो अवधिमै प्राप्त गरेको विरासतलाई थप उचाईमा पु¥याउदै, मूलतः बैंकिङ क्षेत्रको साझा संस्थाकोरुपमा विस्तार गर्ने र बैंकिङ क्षेत्रको सुधार, विकास एवं विस्तारमा केन्द्रित गर्दै समग्र राष्ट्रको आर्थिक विकासमा महत्वपूर्ण टेवा पु¥याउने अभिन्न सहयोगी संस्थाकोरुपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
साथै, नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंकलगायतका नियामक निकायहरु र सरोकारावाला संस्थाहरुसँग निरन्तर सहकार्य गर्दै तिव्र आर्थिक गतिविधिमार्फत राष्ट्रको अर्थतन्त्रलाई सबल र आत्मनिर्भर बनाउने दिशामा केन्द्रित हुने बताए ।
राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा समुद्घाटन गरिएको उक्त साधारण सभाको बन्द सत्र नयाँ वानेश्वरस्थित द एभरेष्ट होटलमा सम्पन्न गरिएको थियो ।
सिबिफिनको उक्त साधारणसभाको समुद्घाटन समारोहका प्रमुख अतिथि राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना मन्तव्य राख्दै उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्दै उत्पादकत्व बढाउने दिशामा अग्रसर हुन र आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा एकजुट भएर लागि पर्न सबै पक्षहरुलाई सुझाव दिइन् ।
त्यसैगरी विशिष्ट अतिथिद्वय माननीय मन्त्री राजेन्द्र कुमार राई, वरिष्ठ अर्थविद् तथा पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा, विशेष अतिथि गभर्नर महा प्रसाद अधिकारीले शुभकामना मन्तव्य राख्दै मातहतका निकायहरुसँगको सहकार्यमा सिबिफिनले समग्र अर्थतन्त्रको सवलीकरणका लागि निर्वाह गर्दै आएको भूमिकालाई थप विस्तार गर्ने अपेक्षा व्यक्त गरे ।
उक्त साधारण सभाको अवसरमा नेपाल राष्ट्र बैंकको गभर्नर, राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र नेपाल सरकारको अर्थमन्त्रीलगायतका महत्वपूर्ण ओहदाको सफलतापूर्वक नेतृत्व गरी राष्ट्रको अर्थतन्त्रलाई गतिशिल बनाउन अहम् भूमिका र योगदान पु¥याएका वरिष्ठ अर्थविद् डा. युवराज खतिवडालाई सिबिफिनले राष्टपतिमार्फत सम्मान समेत गरिएको थियो ।
समुद्घाटन समारोहमा राष्ट्रपति कार्यालयका विषयविज्ञ, विभिन्न मन्त्रालयका सचिव, सहसचिव, डेप्यूटी गभर्नर, व्यवसायिक संस्थाका प्रतिनिधि, कुटनैतिक एवं दातृ निकायका प्रतिनिधि, बैंक तथा वित्तीय संस्थाका अध्यक्ष तथा प्रतिनिधिसहित विभिन्न संचारमाध्यमहरुको उपस्थिति रहेको थियो ।















