Dhulikhel Eco Banner new

कान दुखेको निको पार्ने कानदेवता

29.11K
shares

काठमाडौं, १० फागुन । नेपाल भाषामा कानदेवतालाई न्हेपंस्या द्यः भनिन्छ । जसको अर्थ हो कान दुखाइको देवता । यस मन्दिरलाई किन न्हेपंस्या द्य भनिएको भन्ने सबैलाई चासो लाग्नु स्वभाविक हो । कान दुख्दा यहाँ पूजा गरिन्छ । एक जनाले मलाई सोध्नु भयो मेरो कान दुखेर धेरै नै समस्या दिएको छ । कति डाक्टर देखाउनु, डाक्टर देखाउँदा देखाउँदा वाक्क दिक्क भैसक्यो । त्यतिकैमा नजिकै बसेको नरसिंह ब्यञ्जनकारले भने औषधि गर्दा पनि निको भएन भने कानदेवता मन्दिरको दर्शन गर निको हुन्छ ।

यो मन्दिरमा पाला चढाएर दर्शन गर्‍यो भने कान दुखेको निको हुने उनी सुनाउँछन् । उनले भने अनुसार नै मन्दिरमा गएर दर्शन गरियो । त्यसको केही दिन पछि कान दुखेको निको भयो । त्यसपछि मलाई यस मन्दिरको बारेमा जान्न मन लाग्यो ।

यो मन्दिर ललितपुर र काठमाडौं जोड्ने थापाथलीको पुलबाट कोपुण्डोल चोकको दाहिने तर्फ रहेको छ । कान दुखेको निको पार्ने देवताको रुपमा कान देवता परिचित छन् । कुनै पनि व्यक्तिको कान दुख्ने, कान पाक्ने, कान सुन्निन विभिन्न उपचार गर्दा पनि कानको रोग निको नहुनेहरु यहाँ आउने गर्दछन् । कान देवता स्थानमा एउटा सानो प्वाल रहेको छ, जहाँ तेल हालेर पूजा गरियो भने कानको समस्या समाधान हुने जन विश्वास रहि आएको स्थानीय दोलेन्दरत्न शाक्यको भनाइ छ ।

शाक्यका अनुसार कानदेवता अहिलेको स्थानभन्दा अलि पर कोपुण्डोलदेखि लगनखेल जाने बीच बाटैमा थियो । बाटो बढाउदा अप्ठ्यारो भएर सार्न लाग्दा भूकम्प गएको गएको थियो । त्यसैले यो सिद्ध शक्तिपिठको रुपमा मानिन्छ ।

यस मन्दिरमा दर्शन गर्दा अरु मन्दिर जस्तो मन्दिर नभएर प्वाल भएको कारण सो प्वाललाई दाहिने र देब्रे कानले तीन तीन पटक छुवाउने प्रचलन रहेको छ । यसरी कान छुवाउँदा आफ्नो कानको दुखाई सबै देवताले लिने विश्वास गरिन्छ ।

के छ त यसको किम्बदन्ती ?

यस स्थानको बारेमा प्रचलित कथनहरु छन् । पाटन र काठमाडौंका स्थानीहरुले आ–आफ्नो राजालाई ठूलो बनाउनका लागि तथ्यहरु आफ्नो अनुकूल बनाउँछन् ।

किम्बदन्ती १ : एक समयमा पाटनका राजाले काठमाडौंको राजालाई उपहार स्वरुप पौभा चित्र दिए । त्यो पौभा चित्रमा यन्त्र फिट गरिएको थियो । तत् पश्चात पाटनका राजाले काठमाडौंको राजाको गोप्य बैठकहरु सबै थाहा पाउन थाले । पछि काठमाडौंको राजाले थाहा पाएपछि सो यन्त्रलाई निर्जीव गरेर वागमती पारी फ्याकिदिएको कुरा थाहा हुन्छ ।

किम्बदन्ती २ : पाटनका राजा झैं काठमाडौंका राजालाई पनि आफू बलियो र चतुर हुन मनलाग्यो । त्यसपछि काठमाडौंका राजाले पाटनका राजालाई यन्त्र जडित पौभा चित्र उपहार पठाए । त्यो पौभा चित्र राजालाई असाध्यै मन परेर आफ्नै शयन कक्षमा नै राखे । यसपश्चात पाटनको गोप्य बैठकहरु काठमाडौंका राजाले थाहा पाए । सो ध्वानियन्त्रको ट्रान्समिटर कानदेवतास्थान रहेको कुरा बताइन्छ ।

काठमाडौंका राजा दिनप्रतिदिन पाटनका राजाभन्दा शक्तिशाली हुँदै गएपछि पाटनका राजाले विज्ञहरुसँग सल्लाह गरि छानविन गर्दा पौभा चित्रबाट नै समस्या आएको थाहा पाएपछि कोपुण्डोलको ट्रान्समिटरलाई बिगारेर पाटनको कुरा काठमाडौंले सुन्न नपाउने र काठमाडौंको कुरा पाटनले मात्र थाहा पाउने बनाइयो । यो सिलसिला चलिरह्यो । पछि सो ध्वनि यन्त्रलाई बिगारेर वागमती पारी मिल्काइएको थियो भन्ने कुरा पनि सुनिन्छ ।

किम्बदन्ती ३ : मल्लकालीन समयमा तत्कालीन कान्तिपुर र पाटनका राज्य बीच गहिरो वैमनस्य थियो । जसका कारण एक अर्काका राज्य माथि हमला हुनु स्वभाविक थियो । यस्तै क्रममा पाटनका राजाले तन्त्रको प्रयोग गरि षडयन्त्र गरेर पौभा चित्रमा अत्यन्त कलात्मक स्वर्ण जडित पौभा चित्र निर्माण गरेर कान्तिपुरका राजलाई पनि पठाएको भन्ने कथनहरु रहेका छन् । त्यतिबेला तीनवटा पौभा निर्माण गरेर एउटा काठमाडौंका राजालाई अर्काे एउटा पाटनका राजाको दरवारमा र तेस्रो यन्त्र वाग्मतीको किनारामा एउटा ठूलो खम्बा बनाइ कानको आकृतिमा राखिएको भन्ने किम्बदन्ती छ । यसरी यन्त्र बनाएको कुरा काठमाडौंको राजाले थाहा पाएपछि । यन्त्रलाई निष्क्रिय पारेका थिए ।
किम्बदन्ती ४ : कान्तिपुरका राजा प्रताप मल्ल (वि.संं. १६९८–१७३१) र ललितपुरका राजा श्रीनिवास मल्ल (वि.संं.१६८४–१७४३) का बीच निकै प्रतिस्पर्धा थियो । दुवै जना राजा तान्त्रिक थिए । उनीहरुका सहयोगी तान्त्रिक जामुन बज्राचार्य, विश्वनाथ नै थिए । जामुनले राजा प्रताप मल्लका अनुसार सुन्दर पौभा चित्र तयार गरि राजा श्रीनिवास मल्लको दरवारमा टाँसे ।

पौभा चित्रमा भएको यन्त्र कानदेवताको भनि पूजा गर्ने प्रबन्ध पनि मिलाएको कुरा सुन्नमा आउँछ । यसरी श्रीनिवास मल्लले थाहा पाए । आफ्ना तान्त्रिक विश्वनाथलाई भनेर कानदेवताको एक्सचेन्ज फर्काए । यसपश्चात कान्तिपुरको सबै कुरा ललितपुरले थाहा पाउने भए । कान्तिपुरले थाहा पाए पछि कानदेवता भित्र रहेको यन्त्र झिकेर वागमतीमा फ्याकिदिए । जुन यन्त्र मिल्काएको ठाउँ नै कानदेवता स्थान हुन गएको जनविश्वास रहेको छ । जुन तान्त्रिक शक्ति भएकोले भक्तजनहरु दर्शन गर्दछन् ।

यी सबै किम्बदन्तीहरु कतै पनि लिपिबद्ध भएको पाइदैन । खालि एक पुस्ताले अर्को पुस्तालाई सुनाइएका आधारमा मात्रै यसको चर्चा गरिएको छ ।