Dhulikhel Eco Banner new

आत्मनिर्भर लघुवित्तको आईपीओमा एकैदिन २४ गुणा बढी आवेदन

5.11K
shares

काठमाडौं, ११ फागुन । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले आज अर्थात ११ गतेबाट जारी गरेको आईपीओमा २४ गुणा बढी आवेदन परेको छ । पहिलो दिन नै मागभन्दा २४ गुणा बढी आवेदन परेको हो ।

सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार बिहीवार साँझ ५ बजेसम्म ३ लाख ६६ हजार २३८ जना आवेदकले ४१ लाख ६० हजार ४६० कित्ता आईपीओ खरीद माग गरेका छन् ।

कम्पनीले सर्वसाधारणका लागि १ लाख ६९ हजार ७५५ कित्ता आईपीओ सार्वजनिक निष्काशनमा ल्याएको हो । सर्वसाधारणका लागि कम्पनीले आफ्नो जारी पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२ दशमलव ६२५ प्रतिशत दरको २ लाख ३ हजार ३८० कित्ता शेयर बिक्री गर्न अनुमति पाएको थियो ।

कुल कित्ता शेयरमध्ये १० प्रतिशत दरको २० हजार ३३८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारमा बाँडफाँट गरी ३ हजार ११७ कित्ता शेयर कर्मचारीहरू र १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी शेयर सार्वजनिक निष्कासनमा ल्याइएको हो ।

पहिलो दिनमै मागभन्दा बढी आवेदन परिसकेकाले कम्पनीको आईपीओ छिटो अवधि फागुन १५ गतेसम्म मात्र विक्रीमा रहनेछ । यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।