Dhulikhel Eco Banner new

यो साता ४७ अंकले घट्यो शेयर बजार, अर्को साता के होला ?

5.03K
shares

काठमाडौं, १३ फागुन । फागुन महिनाको दास्रो साता शेयर बजारमा भारी गिरावट भएको ट । यो साता नेप्से परिसुचक ४७ अंकले ओरालो लागेको छ । गत साता २०७०.४१ विन्दुमा बन्द भएको नेप्से, यस साता २.३१ प्रतिशतले घटेर २०२२.६४ विन्दुमा झरेको छ ।

यो हप्ता ५ कारोबार दिनमध्ये ३ कारोबार दिन मात्र खुलेको थियो । ३ दिनमध्ये १ शेयर बजार उकालो लागेको थियो भने २ दिन भारी अंकले ओरालो लागेको थियो ।

नेपाल राष्ट्र बैंकले अर्धवार्षिक समीक्षा सार्वजनिक गरेसँगै ओरालो शेयर बजार केही मात्रामा गति लिन नपाउदैं लघुवित्तहरुलाई बनाएको कडा नियमका कारण शेयर बजार अझै ओरालो लागेको हो ।
यस साता सेन्सेटिभ इण्डेक्स १२.०८ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.२२ अंक र सेन्सेटिभ इण्डेक्स ४.०२ अंक घटेको छ ।

यस साता नेप्से घटेपनि दैनिक औषत कारोबार रकम भने गत साताको तुलनामा बढेको छ। गत साता दैनिक औषतमा २ अर्ब ६ करोडको शेयर कारोबार भएको बजारमा, यस साता २ अर्ब ९ करोडको शेयर कारोबार भएको छ ।

गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम १.३६ प्रतिशत बढेको हो। त्यसैगरी, यस साता दैनिक औषत कारोबार संख्या ७.६७ प्रतिशत बढेको छ भने दैनिक औषत शेयर संख्या २.४२ प्रतिशत बढेको छ ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण २.४१ प्रतिशत घटेको छ। गत साता २९ खर्ब ८७ अर्ब रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ७२ अर्ब रुपैयाँ घटेर २९ खर्ब १४ अर्ब रुपैयाँमा झरेको छ।

१३ उपसमूहमध्ये यस साता जलविद्युत उपसमूहको परिसूचक बढेको छ भने बाँकी १२ उपसमूहको परिसूचक घटेको छ । यस साता जलविद्युत उपसमूहको परिसूचक ०.५८ प्रतिशत बढेको छ। यस साता लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक १२.८७ प्रतिशत घटेको छ। साताको अन्तिम कारोबार दिन मात्र यस उपसमूहको परिसूचक ९ प्रतिशतभन्दा बढी घटेको थियो ।