नेशनल लाइफको सम्मेलनमा उत्कृष्ट शाखा र कर्मचारी सम्मानित
वि.सं.२०८३ साउन २५ सोमवार १५:५५
shares

काठमाडौं, २५ साउन। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘रेजिङ द बार, रिडिफाइनिङ सक्सेस’ नारासहित आयोजना गरेको चारदिने ब्रान्च म्यानेजर्स कन्फरेन्स गोरखाको मनकामनास्थित होटल मनकामना हिलक्रेष्ट रिसोर्टमा सम्पन्न गरेको छ।
सम्मेलनमा कम्पनीको व्यवसाय विस्तार, आगामी व्यावसायिक रणनीति, प्रतिस्पर्धात्मक बीमा बजारका चुनौती, कर्मचारीको क्षमता अभिवृद्धि तथा प्रविधिको प्रयोगलगायत विषयमा छलफल तथा प्रशिक्षण गरिएको थियो।
कम्पनीकी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा अध्यक्ष सिंहले जीवन बीमा व्यवसाय दिनप्रतिदिन प्रतिस्पर्धात्मक बन्दै गएकाले समयअनुसार आफूलाई तयार गर्दै व्यवसाय प्रवर्द्धनमा लाग्नुपर्ने बताइन्।
उनले कर्मचारीको क्षमता अभिवृद्धिका लागि आवश्यक तालिम तथा प्रशिक्षणमा कम्पनीले निरन्तर लगानी गर्दै आएको बताउँदै आगामी दिनमा पनि मानव संसाधन विकासलाई प्राथमिकता दिने उल्लेख गरिन्।अध्यक्ष सिंहले जीवन बीमा क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को सम्भावना बढ्दै गएको भन्दै कर्मचारीलाई एआईसम्बन्धी ज्ञान तथा सीप प्रदान गरी डिजिटल मार्केटिङलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन्।
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले स्वागत मन्तव्य दिँदै नयाँ आर्थिक वर्षको सुरुवातसँगै नयाँ सोच, संकल्प र अवसरका साथ अघि बढ्नुपर्ने बताए। उनले कर्मचारीबीचको समन्वय र प्रतिबद्धताबाट कम्पनीको व्यवसायिक उचाइ थप बढ्ने विश्वास व्यक्त गरे।सम्मेलनमा कम्पनीका विभागीय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रमुख तथा मार्केटिङ कर्मचारी गरी देशभरबाट २०० जनाभन्दा बढीको सहभागिता थियो।
नेपाल बीमा प्राधिकरणका निर्देशक शम्भराज लामिछानेले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी प्रशिक्षण दिएका थिए। उनले जीवन बीमाको माध्यमबाट समेत सम्पत्ति शुद्धीकरण हुन सक्ने सम्भावना रहेकाले सबै तहका कर्मचारी सचेत र जिम्मेवार हुनुपर्नेमा जोड दिए।
त्यस्तै, प्रशिक्षक विश्वराज पौडेलले आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी प्रशिक्षण दिँदै एआईका विभिन्न टुल्सको प्रयोग र डिजिटल माध्यमबाट बीमा व्यवसायको प्रभावकारी मार्केटिङ गर्ने उपायबारे जानकारी गराए।अन्तर्राष्ट्रिय प्रशिक्षक सुरन डी सिल्भाले प्रतिस्पर्धात्मक बीमा बजारमा व्यवसाय विस्तार, वृद्धि तथा व्यावसायिक सफलता हासिल गर्ने उपायबारे व्यावहारिक प्रशिक्षण दिएका थिए।
सम्मेलनका अवसरमा आर्थिक वर्ष २०८२/८३ मा शाखा सञ्चालनका विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्ने पाँच शाखा कार्यालयलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। त्यस्तै, प्रथम बीमाशुल्क संकलन, सक्रिय अभिकर्ता उत्पादन तथा बीमालेख संख्याका आधारमा उत्कृष्ट तीन–तीन शाखालाई समेत पुरस्कृत गरिएको थियो। चेयरपर्सन क्लब तथा सीईओ क्लब योजनामा सबैभन्दा धेरै अभिकर्ता छनोट गराउन सफल एक–एक शाखालाई पनि सम्मान गरिएको कम्पनीले जनाएको छ।
कर्मचारीको क्षमता विकाससँगै आपसी सम्बन्ध सुदृढ गर्ने उद्देश्यले सम्मेलनमा सांगीतिक तथा मनोरञ्जनात्मक कार्यक्रमसमेत आयोजना गरिएको थियो। पुरुष तथा महिला कर्मचारीबीच ब्याडमिन्टन, टेबल टेनिस तथा म्युजिकल चेयरलगायत प्रतियोगिता सञ्चालन गरिएको थियो। विभिन्न खेलमा उत्कृष्ट हुने कर्मचारीलाई प्रमुख कार्यकारी अधिकृत खत्रीले पुरस्कार प्रदान गरेका थिए।
चारदिने सम्मेलनले कम्पनीको आगामी व्यावसायिक रणनीति तय गर्नुका साथै शाखा तथा केन्द्रीय कार्यालयका कर्मचारीबीच समन्वय, क्षमता अभिवृद्धि र संस्थागत प्रतिबद्धतालाई थप मजबुत बनाएको कम्पनीले जनाएको छ।















