फागुन २५ गतेबाट आईपीओ बिक्री गर्दै माई खोला हाइड्रोपावर
वि.सं.२०७९ फागुन १५ सोमवार ०९:५१
shares

काठमाडौं, १५ फागुन । माई खोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले फागुन २५ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ बिक्री गर्न लागेको हो ।
कम्पनीले जारी पूँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँको १० प्रतिशत अर्थात ३ करोड ९२ लाख १५ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ३ लाख ९२ हजार १५७ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र ईलाम जिल्लाका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गर्न लागेको हो ।
त्यस्तै दोस्रो चरणमा सर्वसाधारणमा निष्कासन हुने शेयरको १० प्रतिशतले हुन आउने १ करोड ५२ लाख ९४ हजार १०० रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित मूल्यका १ लाख ५२ हजार ९४१ कित्ता शेयर भने वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गर्न लागिएको हो ।
यो आईपीओ खरीदका लागि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
आयोजन प्रभावित क्षेत्रका स्थानीयमा छिटोमा चैत ९ गतेसम्म र ढिलोमा चैत २४ गतेसम्म विक्री मिति तय गरिएकोमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने चैत ९ गतेभित्र आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने इक्रा एनपि डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

















