के छ घोडेजात्रा र पाहाँचःह्रे को किम्बदन्ती ?
वि.सं.२०७९ चैत ७ मंगलवार ०६:००
shares

काठमाडौं, ७ चैत्र । मंगलबार काठमाडौं उपत्यकामा घोडेजात्रा मनाइदै छ । उपत्यकाका नेवारहरुले मनाउने विभिन्न जात्रामध्ये घोडेजात्रा एक महत्वपूर्ण जात्रा हो । काठमाडौं, ललितपुर र भक्तपुरका नेवारहरु आ–आफ्नो स्थान पिच्छेको छुट्टा छुट्टै चाडपर्वहरु मनाउछन् । भक्तपुरका नेवारहरु बैशाख १ गने अर्थात विश्वध्वजपातन(योसिंकोथलेगु) भनेर भनेर धुमधामसँग मनाइउँछन् । यो जात्रा मनाइने मुख्य दिनभन्दा तीन दिन अघिदेखि सुरु हुन्छ । यदि चैत्र महिनाको ३० गते त्राजाको मुख्य दिन भएको खण्डमा २७ गतेदेखि र ३१ गते मुख्य दिन भएमा २८ गतेदेखि नै यो जात्रा सुरु हुन्छ ।
त्यस्तै गरी ललितपुरमा बैशाखशुक्ल पक्ष प्रतिपदाको दिनमा रातो मत्स्येन्द्रनाथलाई रथमा राखेर ४ दिन पछि रथयात्रारम्भ शुरु गरेर एक महिना लामो जात्रा मनाउछन् । काठमाडौंको पनि विभिन्न जात्रा मध्ये ठूलो र रमाइलो चाँड पाहाँचःह्रे हो । नेवाहरुको आफ्नै छुट्टै महत्व भएको चाड हो । पाहाँ भन्ने वित्तिकै पाहुना हो, त्यसैले नेवारहरुले त्यस दिनमा आफ्ना पाहुनाहरुलाई भगवान सरह मानेर आफ्ना साथीभाइ, आफन्तहरुलाई बोलाएर भोज खुवाउने चलन छ ।
चैत्रकृष्ण चतुर्दशीदेखि प्रतिपदासम्म पाहाचह्रे मनाउने चलन रहेको यज्ञरत्न शाक्यले जानकारी दिए । उनका अनुसार हिन्दु र बौद्ध नेवारहरुले अत्यन्त श्रद्धापूर्वक काठमाडौंको विभिन्न टोलमा रहेका गणेश, भैरव, देवी र अष्टमातृका देवीलाई खटमा राखेर यो जात्रा गर्ने चलन छ । नक्साल भगवती, तख्ति अजिमा, लुँचुभूलु अजिमा, न्हाय्कंतला अजिमा, कंग अजिमा, न्यतमरु अजिमा, वटु र टेबहालका लुँमधि अजिमा, थायमदु चारढुङ्गाका नरसिंहको मूर्तिलाई खटमा हालेर विभिन्न टोलटोलमा बाजागाजाका साथ गीत गाउँदै घुमाउने चलन छ । यसरी देवाताहरुको समेत आफ्नो साथीहरु भेट्ने गरेको शाक्यले बताए ।
देउपाटनका बछला माजु (भुवनेश्वरी)लाई अष्टमातृका देवीहरुका आमा मानिन्छ । त्यसैले पाहाचह्रेको सात दिन अघि चैत्रकृष्ण अष्टमीको दिनमा बछलामाजुले आफ्ना छोरीहरुलाई बोलाउन जाने भनेर ‘दुरुं च्याँच्याँ’को बोलमा झ्याली बाजा बजाउँद देउपाटन पशुपतिको सानो शिवलिङ्ग र बछलामाजु भुवनेश्वरीको प्रतीक भएको खट जात्रा गर्दै देउपाटनको लगंलाछी टोल, पाचुला टोल, सिफः, मालिगाउँ, नक्साल, नागपोखरी, हात्तीसार र जमल हुँदै असन, जनबहाल, वंघ, हनुमान ढोका, मरु, चिकंमुग, लगन, टेकुदोभान भइ पचली आजु द्योलाई पिंचा राख्न जाने भनेर पालामा दियो बालेर ल्याइन्छ । त्यही पूजा सहित बलि दिइन्छ । फर्किदा लगन, ब्रह्म टोल, जोशीदेवल, चिकंमुगल, मरु, यटखा, न्यत, त्यंग, कलाछि, जमल, कमलपोखरी, बानेश्वर, हाकुताँ (कालोपुल), सिफल, जयबागेश्वरी र पाचुला हुँदै देउपाटनबाट पशुपति पुर्याइन्छ । दुरुं च्याँच्याँ जात्रालाई पाहाँचःह्रे आउन एक हप्ता मात्र बाँकी भएको सूचना दिइने जात्राको रुपमा लिइन्छ ।
किम्बदन्ती अनुसार राजा गुणकामदेवले कलिगत संबत ३८२५ मा काठमाडौंको निर्माण गर्ने क्रममा सुरक्षाको उद्देश्यले अष्टमातृका पिठ जगाई चारैतिर लुमधी अजिमा (भद्रकाली), कंग अजिमा (कंकेश्वरी), म्ह्येपि अजिमा (ज्ञानेश्वरी), मैती अजिमा (मैतीदेवी), तख्ती अजिमा (नीलबाराही), न्यतमरु अजिमा (नरदेवी), बछला अजिमा (भूवनेश्वरी) र लुति अजिमा (इन्द्रायणी) स्थापना गरेर खट जात्रा समेत चलाएका थिए ।
नेवारहरुले पाहाचह्रेको दिनमा आ–आफ्नो टोलमा लुकुमाद्यलाई पूजा गर्ने रहेको राममान डंगोलको भनाइ छ । फोहरमा लुकेर बसेको महादेव अर्थात पिशाचको रुपमा लुकेर बसेको शिवलिङ्गलाई समयबजी मासु, भटमास, अदुवा, लसुन, जाँड, रक्सी, सुन र चाँदीको फूल भनेर मूला र तोरीको फूल चढाइ दियो बालेर गाजल थापिन्छ । जुन गाजल आँखामा लगाउँदा वर्षभरि आँखा दुख्दैन भन्ने मान्यता रहेको उनको भनाइ छ ।
किम्बदन्ती अनुसार महादेवलाई साढेसाती शनि लागेपछि महादेव मलको खाल्दोमा लुक्नगएछ । साढेसातवर्ष पछि महादेवले शनिलाई भनेछ हेर शनि तिमीले मलाई छुन नसक्ने गरी म फोहरमा लुकेर बसेको भनेपछि शनिले हाँसेर भने मेरो प्रभावले गर्दा हजुर फोहरमा लुक्नु भएको हो । यही लुकेर बसेको महादेवलाई नै नेवार समुदायले लुकुमाःद्य भनी पूजा गर्दै आएको हो ।
पाहाँचहे्रका दिन राति टेवहालको लुँमधि अजिमा, वटु अजिमाको खट टुडिखेल ल्याइन्छ । त्यस्तै गरी कंग अजिमालाई पनि ल्याइन्छ । त्यसपछि टेवहाल र वटु अजिमाको खट जुधाउने भनेर खटमा बसेका मानिसको हातमा रहेको मशाल साटासाट गरी तीन पटक खट घुमाएर फर्कान्छ । पहिले पहिले यहाँबाट तीनवटै खट देउपाटनमा बछला माजु र पशुपति मन्दिरसम्म पनि लगिन्थ्यो । त्यस्तै गरी नक्साल भगवतीको खट पनि लाने चलन अहिले हराएको छ ।
प्रतिपदाको दिन अर्थात पाहाँचह्रेको तेस्रो दिन टेवहाल खलकले पँहेलो, वटु खलकले नीलो र कंग खलकले रातो टोपी लगाएर अजिमाहरुको खट असनमा ल्याइ जुधाएको भनेर खटमा बसेका मानिसले आफूसँग ल्याएका मशाल सातफेर गरी तीनजना दिदीबहिनी भेट गराउने भनेर तीन पटक खटलाई घुमाउने गरिन्छ । त्यतिबेला स्थानीय घरका झ्यालहरुबाट फूल अक्षता, अबिर र ल्वँचामरी आदि छरेर देवतालाई सत्कार गरी दलुचा(दिया)मा दियो बाल्ने परम्परा रहेको राममाया महर्जनको भनाइ छ । उनका अनुसार यसरी देवताको जुधाइ जात्रा गरिन्छ भने न्यतमरु अजिमा, दख्ती अजिमा, मैती अजिमा, नक्साल भगवती, म्ह्यमी अजिमा, न्हाय्कंतला अजिमा, नरसिंह आजुको जात्रा भने आआफ्नै क्षेत्रमा गरिन्छ ।
यी अजिमाहरु मध्ये लुतिमरु(इन्द्रायणी) अजिमाको जात्रा भने बालचह्रेको दिनमा मनाउने गरिन्छ । लुतिमरु अजिमा अरु दिदी बहिनीमा गरिब र १२ जना सन्तान भएकोले पाहाँचह्रेमा माइतीमा भोज खान जाँदा हेला गरेकोले भोज नखाइ बच्चाहरुलाई साथमा लिएर फर्किएको समेमा बाटोमा भेटिएको एउटा फर्सि भएपनि उसिनेर बच्चाहरुलाई खुवाउनु प¥यो भनेर हेर्दा बच्चाहरु थकाइले सुतिसकेका थिए । भोलिपल्ट हेर्दा त्यो फर्सि सुनको भएपछि उनी धनी भएको किम्बदन्ति पाइन्छ । त्यसबेलादेखि लुतिअजिमा(इन्द्रयणी)को पनि जात्रा बालाचह्रेको दिनमा गर्ने प्रचलन सुरु भयो ।
यस वर्ष नेपाली पात्रो अनुसार २०७९ चैत्र ७ गते घोडा जात्रा परेका छ । पाहाँचह्रेको दोश्रो दिन अर्थात चैत्रकृष्ण औशीको दिनमा घोडाजात्रा मनाइन्छ । पौराणिक कथा अनुसार गुरुमापा (टुण्डी) नाम गरेको राक्षसले नगरवासीलाई आतंकित पार्ने र बालबालिकालाई लैजान थाले । यसरी गुरुमापाको आतङ्गबाट बच्न टुँडिखेलको रुखमा एक मुरी चामलको भात र एउटा राँगाको मासु केशचन्द्रवहाल अर्थात इटुम्वहालबाट पकाएर राख्न लग्ने चलन सुरु भयो ।
यसरी गुरुमापाले फेरी नगरवासीलाई दुःख दिन नसकोस भनेर आफ्नो नगरमा जति पनि घोडाहरु छन् सबैले कुल्चाएर गुरुपापाको शक्ति नष्ट गर्नको लागि घोडाको प्रयोग गरिएको भन्ने भनाइ रहेको छ । अहिले यो राष्ट्रिय उत्सव भएको छ र उच्च पदस्थ व्यक्तिहरुको उपस्थितिमा घोडेजात्रा मनाउने गरिन्छ । पनि उपस्थिति रहनेछ ।
यस दिन यहाँ नेपाली सेनाको आयोजनामा घोडा दौड प्रतियोगिता हुन्छ । जति चाँडो घोडा दौडन्छ, त्यति चाँडो दानवको आत्मालाई वशमा पार्छ । यस दिन इक्वेस्ट्रियन घटनाहरु, एक्रोब्याटिक्सर प्यारासुटिंग पनि प्रदर्शन गरिन्छ । सर्वसाधारणहरुको लागि टुडिखेलको बार वरिपरिबाट हेर्नसकिन्छ तर बार भित्र आउन निषेध गरिएको हुन्छ । यसरी भव्य रुपमा पाहाँ चह्रे र घोडाजात्रा पर्व मनाइन्छ ।














