अर्थतन्त्रलाई सहि दिशामा ल्याउन सबैको हातेमालो आवश्यक : मुख्यसचिव बैरागी
वि.सं.२०७९ चैत १६ बिहीवार १०:३३
shares

काठमाडौं, १६ चैत । नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले नेपालको आर्थिक अवस्थालाई सहि दिशामा ल्याउनका लागि सबैको हातेमालो आवश्यक रहेको बताएका छन् । नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता संघको पाँचौं वार्षिक साधारण सभामा बोल्दै मुख्यसचिव बैरागीले देशको अर्थतन्त्र बलियो बनाउन सरकार र व्यवसायी मिलेर अघि बढ्नुपर्ने बताएका बताएका हुन् ।
विश्वबजारसँग प्रतिपस्र्धा गर्नका लागि उत्पादन बढाउनु पर्ने मुख्यसचिव बैरागीको भनाइ थियो । स्थानीय स्तरमा उत्पादित गलैँचाको गुणस्तरीयता र मौलिकतालाई ध्यानमा राखी त्यसलाई प्रविधिमैत्री बनाउन सके उचित मूल्य प्राप्त हुने उनको भनाइ थियो । मुख्यसचिव बैरागीले व्यवसायीले चाहेको समयमा सरकार साथ दिन तत्पर रहेको पनि उनको भनाइ छ । उनले सात वटै प्रदेशमा रहेका गलैँचा उद्योगहरुलाई एकरुपताका साथ अघि लैजाने नीति सरकारले अवलम्बन गर्ने आश्वासन पनि दिए ।

सोही कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपालको गलैँचा व्यवसायलाई विश्वबजारमा छुट्टै ब्रान्ड बनाएर प्रस्तुत गर्न सके व्यवसाय फस्टाउने बताए । साथै उनले हाल गलैँचा उद्योग सरकारको पहुँचमा नपुगेका श्रमिकहरुलाई रोजगारी दिने थलो बनिरहेको पनि बताए । ‘गलैँचा उद्योग अपाङ्गमैत्री बन्नुपर्छ, अर्थात् जो असक्त छन्, निरक्षर छन्, उनीहरुलाई यसमा सहभागी गराउन सक्नुपर्छ । अन्तर्राष्ट्रिय स्तरमा यो भन्न सक्नुपर्छ की यो हाम्रो देशका असक्तहरुले उत्पादन गरेको वस्तु हो, तब त्यसको महत्व बढ्छ’, मल्लले भने ।
यस्तै नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता संघका निवर्तमान अध्यक्ष रामबहादुर गुरुङले गलैँचा उद्योग नेपालकै पुरानो उद्योग भए पनि नेपालमा बजारको अभाव रहेको उनले बताए । साथै राज्यले पनि गलैँचा उद्योगका लागि खासै ध्यान नदिएको उनको गुनासो थियो । ‘नेपालबाट सन् १९५३ देखि गलैँचाको निर्यात सुरु भएको भए पनि अहिलेसम्म राज्यले गलैँचा सुहाउँदो नीति तर्जुमा गर्न सकेको छैन । जसका कारण व्यसायीहरु मारमा परेका छन्,’ उनले भने ।
संघका अध्यक्ष तेन्जिङ शेर्पाले गत वर्षमात्रै ११ अर्ब भन्दा बढीको उत्पादन निर्यात गरेको जानकारी दिए । उनले वस्तुको मूल्य अत्यधिक भएका कारण पनि अन्तर्राष्ट्रिय जगतमा प्रतिस्पर्धा गर्न नसकेको र त्यसलाई न्यूनीकरण गर्न आवश्यक रहेको बताए ।



















