पहिलो वर्षामा नै सप्तकोशीमा पानीको बहाव उच्च, पश्चिमतर्फ कटान सुरु
वि.सं.२०८० असार ६ बुधवार १६:०६
shares

काठमाडौँ, ६ असार । पूर्वी पहाडी क्षेत्रमा निरन्तरको वर्षाको कारण सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । पानीको बहाव बढेसँगै कोशीमा कटान सुरु भएको छ ।
गत वर्ष कोशीले कटान गरेर पानी बस्तीतर्फ पसेको थियो । बस्तीमा कोशी पस्दा करिब एक हजार पाँच सय परिवार विस्थापित भएका थिए । कोसीमा पानीको बहाव उच्च भएसँगै कटान सुरु भएपछि स्थानीयमा त्रास पैदा भएको छ । गत वर्षकै घटनाबाट तर्सिएका स्थानीय यस वर्ष पनि भयभीत भएका छन् ।
यस वर्ष पहिलो वर्षा मा नै कोसीमा पानीको बहाव उच्च भएसँगै बेलका नगरपालिका वडा नं. ८ को लाहुरे खोजबाट पश्चिम तर्फ धकेलिएर कोशीले कटान सुरु गरेको वडा नं ९ का अध्यक्ष पदम बहादुर खड्काले जानकारी दिएका छन् । उनका अनुसार यस वर्ष कोशीले गत वर्ष कटान गरेको ठाउँभन्दा करिब पाँच सय मिटर अगाडीबाट कटान सुरु गरेको छ ।
अध्यक्ष खड्काले भने, ‘कोशी नदीले कटान सुरु गरेकाले मङ्गलवार बेलका नगरपालिकामा नगर स्तरीय विपद् व्यवस्थापन समितिको बैठक बसेर जिल्ला विपद् व्यवस्थापन समितिलाई हामीले आवश्यक रोकथामको लागी पहल गरिदिन अनुरोध गरेका छौँ ।’ यसका साथै उनले कोशी रोकथामको लागी प्रदेश सरकार, सङ्घीय सरकारलाई समेत आग्रह गरेको बताए ।
उनले कोशी बस्ती तर्फ पस्नबाट रोक्न पालिकाका सबै जनप्रतिनिधिहरू दिनरात खटिरहेको बताउँदै आफूहरू यस विपद्बाट बच्न पूर्ण तयारी अवस्थामा रहेको बताए । उनले भने, ‘विपद्को लागी विभिन्न तालिम, गोष्ठीहरू भइरहेको छ, स्वास्थ्यकर्मी लगायत यातायातका साधनहरू सबै तयारी अवस्थामा छ । हामीलाई गत वर्षको घटनाले नै तर्साएको छ । त्यसैले यो वर्ष हामी पूर्ण तयारीका साथ कोशी रोकथाममा लागेका छौँ ।’
यस वर्ष कोशीले कटान गरेर बस्ती तर्फ पसेमा बेलका नगरपालिकाको २३ सय घरधुरी विस्थापित हुने अवस्था देखिएको खड्काले बताए । त्यस्तै सप्तकोसी नगरपालिकाको केही पूर्वी वडाहरू र कञ्चनपुर नगरपालिकाका पनि केही पूर्वी वडाहरूमा क्षति पुग्ने उनको अनुमान रहेको छ ।














