Dhulikhel Eco Banner new

जानकारीको अभावमा व्यवसाय दर्ता नगरेका व्यवसायी धमाधम व्यवसाय दर्ता गर्दै

6.54K
shares

काठमाडौं, १७ असार । तपस्या विजनेश मेनेजमेन्ट प्रा.लिले काठमाडौं उपत्यकाका तीनसहित काभ्रेका ८० जना महिला उद्यमीहरूलाई व्यवसाय दर्ता सम्बन्धि जानकारी दिएको छ ।

महिला उद्यमी महासंघ नेपाल तथा यूएसएआइडीको सहकार्यमा काभ्रेका उद्यमी तथा व्यवसायीहरूले के कस्ता व्यवसाय सञ्चालन गर्न खोजेका छन् भन्ने कारण समेत पत्ता लगाएर कार्यशाली गोष्ठीमार्फत व्यवसाय दर्ता सम्बन्धि जानकारी दिएको हो ।

लामो समय देखि विभिन्न व्यवसाय सञ्चालन गर्दै आएपनि दर्ता प्रक्रियामा भएको झन्झट र ढिलासुस्तीले धेरैले अनौपचारिकरुपमै व्यवसाय सञ्चालन गर्दै आएको स्थानीय व्यवसायीलाई यस्ले फाइदा पुर्याएको छ ।

कार्यशाला गोष्ठीमा सहभागी काभ्रेकी सावित्री श्रेष्ठलले आफुले सञ्चालन गर्दै आएको होमस्टे कहाँ दर्ता गर्ने र त्यो दर्ता गर्दा के फाइदा हुन्छ भन्ने जानकारी पाउन नसकेको बताइन् । यसबाट हुने लाभ हानी बारे कुनै पनि निकायले आफुहरूलाई प्रशिक्षित नगरेको बताउँदै सावित्री श्रेष्ठले भनिन्,‘व्यवसाय सञ्चालन गर्ने र दर्ता प्रक्रियालाई सहज र सरल भए अनौपचारिक रुपमा सञ्चालनमा रहेका व्यवसाय औपचारिक हुन्छ ।’

कार्यशालामा सहभागी प्रशिक्षक अधिवक्ता भानुभक्त भट्टराईले व्यवसाय दर्ता प्रक्रियाको आवश्यकता, फाइदा तथा बेफाइदा, व्यवसाय दर्ता गरिने निकायका बारेमा जानकारी दिएका थिए ।
तपस्या बिजनेश मेनेजमेन्ट प्रा. लिकी तालिम विभागकी कृति घिमिरेले आगामी दिनमा विद्योग, व्यवसाय दर्ताका साथै कर तथा लेखाका विषयमा महिला उद्यमीहरूको क्षमता अभिबृद्धिमा आगामी दिनमा पनि काम गर्दै जाने बताईन् । काठमाडौं उपत्यका बाहिरका विभिन्न जिल्लामा पनि आगामी दिनमा यस्ता कार्यक्रम सञ्चालन गर्ने जनाउँदै कार्यक्रम संयोजक करिष्मा ढकालले भनिन्, ‘यसले महिला उद्यमीहरुलाई सरकारले प्रदान गरेको सेवा÷सुविधा कहाँ कसरी लिन सकिन्छ भन्ने ज्ञान मात्र दिंदैन नेपालको आर्थिक अवस्था र महिला सशक्तिकरणमा पनि महत्वपूर्ण योगदान पुग्नेछ ।’

कार्यक्रममा व्यवसाय दर्ता नगरेका, विभिन्न व्यवसाय सुरु गर्ने योजनाका, साना तथा मझौला व्यवसायको लागि तालिम लिएका र व्यवसाय संचालन गरिरहेका उद्यमीहरुको सहभागिता थियो।
तपस्या बिजनेश मेनेजमेन्टले आफ्नो दक्षता र जनशक्तिको प्रयोग गरी व्यवसाय दर्ता गर्न इच्छुक उद्यमी÷व्यवसायीहरुलाई आवश्यक व्यवसायिक र कानुनी परामर्श पनि प्रदान गर्ने जनाएको छ । तपस्या बिजनेश मेनेजमेन्टका सिईओ केशब बोहराले दर्ता प्रक्रियालाई प्राथमिकता दिएर दर्ता नगरिएका व्यवसायहरूलाई औपचारिक क्षेत्रमा ल्याउने, उनीहरूको कानुनी मान्यता सुनिश्चित गर्ने र उनीहरूलाई सरकारले प्रदान गर्ने सुविधा प्राप्त गर्न योग्य बनाउने जनाए ।