नारायणघाट–मुग्लिन सडकमा गएको पहिरोका कारण ट्रक पल्टियो, बाटो पुनः अवरुद्ध
वि.सं.२०८० असार १८ सोमवार ०९:०९
shares

काठमाडौं, १८ असार । नारायणघाट–मुग्लिन सडकमा शनिबार राती गएको पहिरो पन्छाएर सडक सुचारु गराएको आठ घण्टापनि नपुग्दै पुनः अर्को पहिरो खसेको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा आज बिहान पहिरो खसेपछि सडक दुईतर्फी रुपमै अवरुद्ध बनेको हो ।
पहिरो गएको स्थानबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ ख ७१० नम्बरको ट्रक सडक छेउमा पल्टिएको छ । दुर्घटनामा सवारी चालक सामान्य घाइते भएको मुग्लिन प्रहरीका इन्सपेक्टर विशाल तामाङले जानकारी दिए ।
‘पहिरोको कारण बिहान बाटै सडक दुईतर्फी अवरुद्ध बनेको छ, अहिले पहिरो पन्छाउने कार्य भैरहेको छ । सडकमा पल्टिएको ट्रकलाई उठाउन क्र्रेन बोलाएका छौं ।’ तामाङले भने शनिवार राती गएको पहिरोको कारण दिनभर अवरुद्ध बनेको उक्त सडक आइतबार साँझ ६ बजेदेखि मात्र खुलेको थियो । सडक सुचारु भएको छोटो समयमै सोही स्थानमा अर्को पहिरो खस्दा बाटो दुईतफी अवरुद्ध भएको छ ।
संघीय राजधानी काठमाडौं जोड्ने महत्वपूर्ण राजमार्गको रुपमा रहेको यो सडक खण्डमा बर्खा याममा बारम्बार जाने पहिरोको कारण विभिन्न स्थानमा सडक अवरुद्ध हुँदा हजारौं यात्रु अलपत्र पर्ने गरेका छन् ।
त्यस्तै, पहिरो झरिरहेको बेला यात्रा असुरक्षित हुने भएकाले नारायणघाट मुग्लिन सडकको साटो वैकल्पिक सडक प्रयोग गर्न प्रहरीले जनसाधारणलाई अनुरोध गरेको छ ।














